काठमाडौँ, असार ९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव लेखराज भट्टले राष्ट्रिय समाचार समिति (रासस)मा जारी तस्बिर प्रदर्शनी अवलोकन गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको अवलोकन गर्नुहुँदै पूर्वमन्त्रीसमेत रहनुभएका नेता भट्टले यो व्यवस्थामा केही भएन भन्नेका लागि प्रदर्शनीले राम्रो जवाफ दिएको बताउनुभयो ।
दुर्गम क्षेत्रका मानिसलाई बिरामी भएका बेला गणतान्त्रिक व्यवस्थाले नै हेलिकप्टरबाट उपचारका लागि लैजाने व्यवस्था गरेका जस्ता सकारात्मक सन्देश दिन प्रदर्शनी सफल भएको उहाँले बताउनुभयो । “यहाँ गेटा मेडिकल कलेजजस्ता ठुला संरचनादेखि उच्च पहाडी क्षेत्रमा सडक पहुँच, स्वास्थ्य, शिक्षा, सूचना प्रविधि पूर्वाधारलगायत तस्बिर रहेको प्रदर्शनीले नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न सफल छ । यो गणतन्त्रमा केही भएन, विकल्प खोज्नुपर्छ भन्नेका लागि पनि यो गतिलो जवाफ हो”, सचिव भट्टले भन्नुभयो ।
सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री झपट बोहराले तस्बिरमार्फत राससले जीवन्त इतिहास देखाउन सफल भएको प्रतिक्रिया दिनुभयो । व्यवस्था परिवर्तनपछिका उपलब्धि देखाउन प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो । गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी परिचालन, छिमेकी तथा अन्य मित्रराष्ट्रसमेतको सहयोगमा निर्मित एवम् निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनासँग सम्बन्धित तस्बिर समावेश छन् ।
वि.सं.२०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएको संरचनाको पुनः निर्माण, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत उत्पादनलगायत विषयमा राससबाट विभिन्न समयमा सम्प्रेषित ९५ तस्बिर प्रदर्शनीमा राखिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृति: हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो । रासस