• १७ असार २०८१, सोमबार

छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ

blog

राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा सहभागी सदस्य । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, असार ९ गते। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका-२ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृह मन्त्रालयलाई रुलिङ गर्नुभएको छ। 

आइतबारको राष्ट्रिय सभा बैठकमा सांसदहरूले सो विषयमा उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गर्नुभएको हो। उहाँले आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिन सधैँजसो मन्त्रीलाई पत्र पठाउने गरेको भएपनि चासो नदेखाएको बताउनुभयो। उहाँले सांसदले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीको कार्यतालिका नै बनाएको भएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘आकस्मिक समय, शून्य समय लगायत जुन समयमा मान्य सदस्यले विषय उठाउनु हुन्छ, ती विषयहरू सधैँ जसो सम्बन्धित मन्त्री कहाँ पठाउने पनि गरेका छौँ। हरेक दिन पठाएका छौँ। यहाँ उठेका विषयका बारेमा जवाफ दिन मन्त्रीको कार्यतालिका नै हामीले दिइसकेका छौँ। यी सबै विषयमा हामीले गम्भीर ढङ्गले रुलिङ गरेर ध्यानाकर्षण गराएका छौँ। आज उठेका विषय जो छन्, अछामको छाउपडीको विषयमा जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु। सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु।’’

आइतबारको बैठकमा सांसदले छाउगोठमा बस्दा बलात्कृत हुनुपरेको घटनालाई उठाएका थिए।