• १२ मंसिर २०८१, बुधबार

मनसुन प्रतिकार्यको लागि सशस्त्र प्रहरी टोली तयारी हालतमा

blog

फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, असार ९ गते । सशस्त्र प्रहरी बल नेपालले सबै कार्यालयहरुमा मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपदमा परेकाहरुको तत्काल उद्धारका लागि मनसुन प्रतिकार्य टोली तयारी हालतमा राखेको जनाएको छ । 

आवश्यक स्राेतसाधनसहित तैनाथ जनशक्तिले बाढी पहिरो र डुबानको सम्भावित इलाकामा हजार्ड म्यापिङ गरी ती स्थानहरुमा केन्द्रित भइ लामो र छोटो गस्ती गर्नुका साथै देशभरका कार्यालयमा डिजास्टर फोकल पर्सनहरु तोकी आवश्यक समन्वय गर्ने व्यवस्था समेत मिलाइएको छ ।

देशभर स्थापना भएका राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रहरु, जिल्ला आपतकालीन सञ्चालन केन्द्रहरुमा तालिमप्राप्त सशस्त्र प्रहरी कर्मचारी खटिई आवश्यक समन्वय गर्नुका साथै विपद्‍मा परेकाको उद्धारका लागि ३९ जिल्लाको ५९ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयमा १ सय २० वटा मोटर बाेट तथा  र्‍याफ्ट बाेटहरु तयारी अवस्थामा राखिएको प्रवक्ता कुमार न्यौपानेले बताउनुभयो । 

९१ जना गोताखोरलाई आवश्यक उपकरणसहित सातवटै प्रदेशमा रहेका बाहिनी मुख्यालयहरु तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं २० विपद् उद्धार गण सिनामंगल, नं २४ कालिका गण कास्की, सिन्धुलीको खुर्कोट बेसमा तैनाथ गरिएको छ । यसैगरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिसहित धनकुटाको मूलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा गरी नौ वटा विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ । 

यसका साथै विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई सातै वटा प्रदेशस्थित बाहिनी मुख्यालयहरु, उपत्यकास्थित नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय, १० वटा शिक्षालय, सबै गणहरुमा एक–एक प्लाटुन र गुल्म वा सोभन्दा साना युनिटमा १ सेक्सनको दरले आवश्यक स्रोतसाधनसहित तैनाथ गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणद्वारा सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरिएका ८ वटा मास क्याजुल्टी भेहिकल र ८ वटा ए क्लासका एम्बुलेन्सलाई परिचालन गर्न सक्नेगरी सुनसरी, महोत्तरी, कुरिनटार, पोखरा, रुपन्देही, सुर्खेत, कैलाली र काठमाडौँमा तयारी अवस्थामा राखिएको प्रवक्ता न्यौपानेको भनाइ छ ।