गोरखापत्र अनलाइन
काठमाडौं, असार ९ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । आइतवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग वार्ताबाट अविलम्ब समाधान गर्नुपर्ने बताउनुभयो । सङ्घीय संसद् सचिवालयका कर्मचारी केही दिन यता सेवा सुविधाको मागसहित आन्दोलनमा छन् । उहाँहरुले ११ बुँदे मागसहित आन्दोलन थाल्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘यो माग वार्ताबाट अविलम्ब सकारात्मक निस्कर्षका साथ समाधान गर्नुपर्छ’ उहाँले भन्नुभयो । संसद सेवाका कर्मचारीमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर, विधायिकामाथि कार्यपालिकाको हस्तक्षेप बन्द गर लगायतका मागसहित कर्मचारीहरु संसद् भवन परिसरमा विरोध जनाउँदै आएका छन् ।