• १२ असोज २०८१, शनिबार

पाँच वर्षमा पनि बनेन सडक

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, असार ९ गते । मोरङको पथरी शनिश्चरे–१० को भुटानी शरणार्थी शिविरबाट दक्षिणतर्फ शनिश्चरे बजार गान्धी आश्रम हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग कालोपत्रे नहुँदा स्थानीयले सास्ती खेप्नु परिरहेको छ । 

२०८० साल गत भदौ मसान्तमा कालोपत्रे गरिसक्नुपर्ने सडक तोकिएको मिति गुज्रिएर १० महिना बितिसक्दा पनि ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्वपश्चिम राजमार्गलाई विराटनगर–रङ्गेली–आमबारी हुँदै झापाको भद्रपुरसँग जोड्ने हुलाकी सडकसँग जोड्ने यो सडक २०७६ साल कात्तिकमा ठेक्का लागेको थियो । सङ्घीय सरकारको हुलाकी सडक आयोजना इटहरीले एक अर्ब ५५ करोड ७३ लाख रुपियाँमा कान्छाराम कन्स्ट्रक्सनलाई निर्माणको ठेक्का दिएको थियो । २८ किलोमिटर लामो यो सडक निर्माण गर्न स्थानीयले ठुलो योगदान गरेका थिए । जिल्लाकै नमुना सडकका रूपमा निर्माण हुने भएपछि स्थानीयले मुआब्जा नलिई सडकलाई जग्गा प्रदान गरेका थिए ।  नालासहित २१ मिटर चौडाइको सडकमा १३ मिटर कालोपत्रे र बाँकी भाग साइकल र पैदलपथ निर्माण गर्ने योजना थियोे तर पाँच वर्ष बित्न लाग्दा पनि सडक कालोपत्रे नभएपछि स्थानीय बर्खायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा हिँड्न बाध्य छन् । 

भइरहेको सानो सडक भत्काएर ठुलो सडक बनाउने योजना आएपछि स्थानीयमा खुसी छाएको थियो । ७९ वर्षीय छविन्द्रमान सिंह कार्कीले भन्नुभयो, ‘‘सडकको चौडा बढाउने भनेपछि ७६० फिट मुख रहेको जग्गाको झन्डै पाँच कट्ठा जग्गा दिएँ तर पाँच वर्ष पूरा भयो । सडक बनेको छैन । हिउँदमा धुलो र वर्षायाममा हिलो खेप्नु परेको छ । महेन्द्रचोकमै होटल व्यवसाय गर्दै आउनुभएका यादव अधिकारीले भन्नुभयो, “हिलो र धुलोका कारण व्यापार हुन छोड्यो । सडकनजिकैका घरमा मात्र होइन । कोठा चोटामा समेत धुलो र हिलो खेप्नु परिरहेको छ ।”  

२८ किलोमिटर सडक लामो यो सडकले मोरङका पथरी शनिश्चरे, सुनवर्सी र रङ्गेली नगरपालिका हुँदै भारतको चोप्राहा जोड्छ । नेपाल–भारतको व्यापारसँग जोडिएको यो सडक निर्माण नहुँदा स्थानीयले वर्षौंदेखि ठुलो सास्ती खेप्नु परिरहेको छ । 

रङ्गेली नगरपालिका–७ स्थित भोटुबाबु चोकदेखि सुनवर्सीको  टकुवा सीमासम्म अझ कम काम भएको स्थानीय सत्यनारायण साहले बताउनुभयो । सडक निर्माणका लागि भोटुबाबु चोकदेखि सुनवर्सीको सिमानासम्म नगरपालिकाले ५२ फिट सडक निर्माणका लागि सम्पूर्ण घरटहरा हटाएर पूर्ण रूपमा सडक खाली गराए पनि सडक बन्न सकेको छैन । आवतजावत गर्ने विद्यार्थी तथा ससाना बालबालिकालाई समस्या पर्ने गरेको अभिभावक सम्पत राजवंशीले बताउनुभयो ।

निर्माण कम्पनीले काम नगरेपछि पथरी शनिश्चरे नगरपालिकाको सभा कक्षमा मोरङका प्रमुख जिल्ला अधिकारीसहितको टोलीसँग निर्माण कम्पनीले काम सुरु गर्ने प्रतिबद्धता गरेको छ । जेठ १२ गते भएको सम्झौता अनुसार काम थालेको स्थानीय पर्शुराम कार्कीले बताउनुभयो । 

तर कान्छाराम कन्स्ट्रक्सनका  फिल्ड इन्जिनियर विमलेश यादव सरकारले समयमा भुक्तानी दिन नसकेकाले काम रोकिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “४० प्रतिशत भौतिक प्रगति भइसकेको छ । सरकारले ३० करोड रुपियाँ मात्र भुक्तानी गरेको छ ।” उहाँले दुई करोड ५० लाख रुपियाँ भुक्तानी लिन बाँकी रहेकोमा असार ७ गते ७० लाख रुपियाँ प्राप्त भएको बताउनुभयो । पछिल्लो पटक ५० लाख रुपियाँको बिल पेस गरिएको र भुक्तानी रोकिएन भने थपिएको म्याद २०८२ सालको असार मसान्तभित्र सडक जिम्मा लगाउने बताउनुभयो । सडक निर्माणका लागि बिजुलीका पोल र सडक क्षेत्रमा पर्ने रुख पनि बाधक भएको इन्जिनियर यादवको भनाइ छ । सडक क्षेत्रका बिजुलीका पोल सार्न ५० लाख रुपियाँ खर्च हुने प्रारम्भिक लागत अनुमान थियो तर विद्युत् प्राधिकरणले एक करोड ५० लाख रुपियाँ खर्च हुने देखाएको छ । 

सरकारले समयमा रकम निकासा नगर्दा सडक निर्माणको लागत खर्चसमेत २० प्रतिशतले बढ्ने यादवको भनाइ छ ।