• १२ असोज २०८१, शनिबार

बिरुवा हुर्काउनेलाई पुरस्कार

blog

सामुदायिक वनसम्बन्धी कार्यशाला गोष्ठीमा वन तथा वातावरणमन्त्री त्रिभुवन साहलगायतका अतिथि । तस्बिर : विजयकुमार साह

ढल्केबर समाचारदाता

ढल्केबर, असार ९ गते । मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री त्रिभुवन साहले रुखका बिरुवा हुर्काउनेलाई पुरस्कार प्रदान गरिने बताउनुभएको छ । शनिबार धनुषाको ढल्केबरमा वन निर्देशनालय मधेश प्रदेशद्वारा आयोजित सामुदायिक वनसम्बन्धी कार्यशाला गोष्ठीमा उहाँले सार्वजनिक स्थानमा पाँच वर्षसम्म बिरुवा हुर्काउनेलाई एक बिरुवाबापत एक सय रुपियाँ पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । हरियाली प्रवर्धन गर्न असार १५ गते महावृक्षरोपण अभियानको शुभारम्भ गर्न लागिएको बताउँदै मन्त्री साहले उचित संरक्षणको अभावमा रोपिएका बिरुवा सुकेर खेर जाने जस्ता समस्या देखिएकाले बिरुवा संरक्षण गर्नेलाई पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिरुवा रोप्नु मात्र ठुलो कुरो होइन, संरक्षण गर्नु ठुलो हो ।”

राष्ट्रिय वृक्षरोपण दिवसका दिन डिभिजन र सबडिभिजन वन कार्यालयमार्फत निःशुल्क बिरुवा वितरण गरी एक नागरिक एक वृक्षरोपण अभियान चलाउने तयारी गरिएकाले सो अभियानमा सहभागी हुन मन्त्री साहले सबैलाई आग्रह गर्नुभयो । 

गोष्ठीमा बोल्दै उहाँले वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यविधि २०८१ स्वीकृत भइसकेकाले वन पैदावरमा आधारित उद्योगलाई सहज रूपमा कच्चा पदार्थ उपलब्ध गराउन सकिने र वनको उत्पादकत्वमा वृद्धि गरी प्रदेशवासीलाई काठदाउराको सहज आपूर्तिको व्यवस्था मिलाई विदेशी काठको आयातलाई निरुत्साहित गरिने धारणा व्यक्त गर्नुभयो । 

उहाँले पानीको जलस्तर उकास्न, तराईलाई मरुभूमीकरणबाट बचाउन चुरे क्षेत्रमा एकीकृत भूसंरक्षण, आकस्मिक भूसंरक्षण, नदी किनारको कटान नियन्त्रण, सहरी जलाधार व्यवस्थापन, गल्छी पहिरो नियन्त्रण, जलाशय निर्माण जस्ता कार्य गरी भू तथा जलाधार क्षेत्रमा सुधार ल्याउने बताउनुभयो । 

वन निर्देशनालय मधेश प्रदेशका निर्देशक जगन्नाथ जैसवालले नेपालको सामुदायिक वन व्यवस्थापन अन्तर्राष्ट्रियस्तरमै उदाहरणीय रहेको चर्चा गर्दै थप सुधार ल्याउन एकआपसमा समन्वयको आवश्यकता भएको बताउनुभयो ।