• १४ असार २०८१, शुक्रबार

सडक आयो, बस आएन

blog

बाजुरा समाचारदाता

बाजुरा, असार ९ गते । बाजुराका दुर्गम गाउँबस्तीका बासिन्दा पछिल्लो समय बस चढ्ने पर्खाइमा छन् । बाजुराको पूर्वीउत्तर क्षेत्रका दुर्गम गाउँबस्ती सडक सञ्जालमा जोडिएसँगै यहाँका स्थानीयवासी बस चढ्ने पर्खाइमा रहेका हुन् ।

मार्तडी–कोल्टी सडक कोल्टी हुँदै पिलीचौर पुगेको झन्डै १० वर्ष भए पनि बस सेवा सञ्चालन भने अझै नभएको बुढीनन्दा नगरपालिका–२ का स्थानीय राधा कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “गत माघमा एक पटक बस कोल्टीमा पुगेपछि अब गाउँबाट बस चढ्न पाइने भयो भन्दै खुसी लागेको थियो । अहिले फेरि त्यो दिनदेखि बस कोल्टीमा नआउँदा त्यो खुसी हराउँदै गएको छ ।” सडक गाउँमा पुगे पनि बस सञ्चालन नियमित नहुँदा यहाँ स्थानीयलाई पहिलेकै झैँ जहाजको पर्खाइमा बस्दै आउनु परेको कार्कीले बताउनुभयो ।

२०७२ सालदेखि मार्तडी–दानसाँघु हुँदै कोल्टीमा छोटा दुरीका सवारीसाधन जिप, ट्याक्टर सञ्चालन हुँदै आएको भए पनि बस सेवा भने निरन्तर हुन सकेको छैन । कोल्टीमा सडक सञ्चालन भएको झन्डै १० वर्ष भए पनि बस सेवा सञ्चालन नहुँदा यहाँका स्थानीय बस चढ्न एक दिनको बाटो हिँडेर मार्तडी आउने गरेका छन् ।

बाजुराको त्रिवेणी, गौमूल, बडीमालिका, बुढीगङ्गा, खप्तडछेडेदहलगायतका बस्तीका बासिन्दालाई बेतालमाण्डौ, बाम्का, तिपाडा र मार्तडी बसपार्क छ । अब पूर्वीउत्तर क्षेत्रका बासिन्दाका लागि भने कोल्टीमा नै बसपार्क हुनु अति आवश्यक रहेको बुढीनन्दा नगरपालिका–९ का स्थानीय गिठे सार्कीले बताउनुभयो ।

 उहाँले भन्नुभयो, “हामी पूर्वीउत्तर क्षेत्रका स्थानीयलाई यातायातको सेवा सुविधा पाउने गरेर गत माघ महिनामा जिल्ला प्रशासन, जनप्रतिनिधि र सरोकारवाला निकायको पहलमा कोल्टीमा बस सेवा सञ्चालन गरे पनि त्यो लामो समय चल्न सकेन ।” सरोकारवाला निकायको पहलमा एक पटक कोल्टीमा बस सेवा सञ्चालन गरे पनि फेरि त्यो बस मार्तडीमै रोकिएपछि यहाँका स्थानीयको गाउँबाट बस चढ्ने धोको अधुरो रहेको सार्कीले बताउनुभयो । मार्तडीदेखि कोल्टीको सडक निर्माण कार्य पूरा नभएकाले यो सडकमा बस सञ्चालन गर्न उपयुक्त नभएपछि कोल्टीमा बस सेवा सञ्चालन गर्ने समस्या भएको जयमालिका यातायात प्रालि बाजुराका अध्यक्ष पृथ्वी रावलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सडक राम्रो छ । बस कोल्टीमा ल्याउनु प¥यो भनेर एक पटक जयमालिका यातायातको बस कोल्टीमा गएको हो ।” सडक राम्रो नभएका कारण त्यो बसलाई कोल्टीबाट मार्तडी पु¥याउँदा बसले कमाइ गरेकोभन्दा बढी मर्मत गर्न पैसा खर्च गर्नु परेको अध्यक्ष रावलले बताउनुभयो ।

यता मार्तडी बसपार्कदेखि चुथीसम्मको नौ किलोमिटर कालोपत्रे गर्न २३ करोड रुपियाँ बजेट छुट्याइएको छ । सो निर्माणको ठेक्का धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालिले लिएको छ । अर्को चुथीदेखि ढक्कनेसम्म छ किलोमिटर र ढम्कनेदेखि कोल्टीसम्मको २६ किलोमिटर बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले ६२ करोडमा जिम्मा लिएको छ तर सडक कालोपत्रको काम पूरा भएको छैन । एक वर्ष पहिला नै काम पूरा गर्नुपर्ने ठेकेदार कम्पनीले अहिलेसम्म सडक कालोपत्रेको काम पूरा नगरेपछि अहिले उनलाई तुरुन्त काम चाँडो गर्न भनिँदै आएको भौतिक पूर्वाधार विकास अछामका सूचना अधिकारी देवीप्रसाद ढुङ्गानाले बताउनुभयो ।

सडक निर्माणको काम जिम्मा लिएको ठेकेदार कम्पनीलाई सडक निर्माणको काम पूरा गर्न पटक पटक भौतिक पूर्वाधार विकास कार्यालय अछामलाई जानकारी गराएपछि अहिले निर्माणको काम भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको  छ ।

बाजुराको पूर्वीउत्तर क्षेत्रका स्थानीयलाई यातायातको सुविधा दिनका लागि कोल्टीमा बस सेवा सञ्चालन गर्न अति आवश्यक रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेकेदार कम्पनीलाई सडक निर्माण गर्न लगाएर गत माघको २३ गते कोल्टीमा बस सेवा सञ्चालन गरिएको हो ।” फेरि यहाँका स्थानीय र बस मालिकको विवादका कारण मार्तडीदेखि कोल्टी बस सेवा सञ्चालन रोकिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।