• १४ असार २०८१, शुक्रबार

पदाधिकारीको सुविधामै छयसट्ठी प्रतिशत खर्च

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असार ९ गते । कास्कीको रूपा गाउँपालिकाको आन्तरिक आम्दानीले पदाधिकारीको सुविधा र आर्थिक सहायतालाई मात्र धानेको देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले विभिन्न व्यक्ति, सङ्घ, संस्थालाई ३८ लाख १६ हजार ९५२ आर्थिक सहायता गरेको छ । पालिकाका पदाधिकारीको सुविधामा ७८ लाख ८० हजार रुपियाँ खर्च भएको छ ।

पालिकाले गरेको आर्थिक सहयोग आन्तरिक आम्दानी एक करोड १९ लाख ३१ हजार ३४ रुपियाँको ३२ प्रतिशत र पदाधिकारीको खर्च ६६ प्रतिशत हो । पालिकाले मापदण्ड र कार्यविधि तयार गरी आर्थिक सहयोग भएको भए पनि त्यसको उपादयेतामाथि महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले प्रश्न उठाएको छ । 

आव २०७९/८० मा ५५ करोड ७२ लाख ४७ हजार ७३३ रुपियाँको बजेटमध्ये ३९ करोड २३ लाख ३७ हजार ७७७ अर्थात् ७०.४१ प्रतिशत खर्च भएको थियो । पालिकाको आन्तरिक आम्दानी कुल खर्च ३९ करोड २३ लाख खर्चको ३.०४ प्रतिशत मात्र छ । रूपाले ३०.७८ प्रतिशत मात्र पुँजीगत निर्माणमा खर्च गरेको र धेरै रकम प्रशासनिक कार्यमा खर्च भएको देखिएको छ । 

आव २०७९/८० मा रूपाको बेरुजु दुई करोड २५ लाख २१ हजार रुपियाँ छ । त्यसमध्ये असुल गर्नुपर्ने ४९ हजार, प्रमाण, कागजात पेस गर्नुपर्ने दुई करोड आठ लाख १४ हजार र नियमित गर्नुपर्ने १६ लाख ५८ हजार देखिन्छ । गत वर्षसम्म नौ करोड ४१ लाख ७८ हजार बेरुजु रहेकोमा अद्यावधिक बेरुजु ११ करोड ६६ लाख ९९ हजार पुगेको छ । अघिल्लो वर्षका ९७ योजनाको चार करोड ३० लाख ४७ हजार आव २०७९/८० मा भुक्तानी गरिएको छ । बहुवर्षीय खरिद र विशेष परिस्थितिबिना अघिल्लो वर्षका योजनाको पछिल्लो आवमा भुक्तानीमा पनि महालेखाले प्रश्न गरेको छ ।

पालिकामा आवको अन्त्यमा ठुलो रकम खर्च भएको देखिएको छ । चौथो त्रैमासिकमा ३८.२ प्रतिशत खर्च भएकोमा असारमा मात्र १७.१८ प्रतिशत बजेट खर्च भएको छ । पालिकाले मध्यमकालीन खर्चको संरचना तयार पारेको छैन भने आयोजना बैङ्कसमेत खडा गरेको छैन । चार वटा घाट ठेक्काका लागि आह्वान भएकोमा दुई वटा मात्र ठेक्कामा लागेको देखिएको छ । इआइए प्रतिवदेनले थप पाँच घाट ठेक्का लाग्न सक्ने देखिएकोमा टेन्डर आह्वान नै नगर्दा घाटमा ९० लाख १७ हजार ५६९ राजस्व गुमेको औँल्याइएको छ । 

गाउँपालिकाको इन्धन खर्चमा पनि प्रतिवदेनमा मितव्यायी बन्न भनेको छ । अघिल्लो वर्ष ५५ लाख ७९ हजार ९४७ रुपियाँ खर्च भएकोमा आव २०७९/८० मा ५९ लाख ५७ हजार २०५ रुपियाँ इन्धनमा खर्च भएको छ । गाउँपालिका स्थापना दिवसमै १८ लाख खर्च र जेसिबीमा साढे १६ लाख खर्च देखिएको उल्लेख गर्दै महालेखाले आम्दानी नहुने यस्ता काममा खर्च नगर्न र मितव्यायी बन्न सुझाएको छ ।