• १२ असोज २०८१, शनिबार

पूर्ण क्षमतामै सञ्चालनमा आयो मर्स्याङ्दी जलविद्युत्

blog

अमरराज नहर्की 

तनहुँ, असार ९ गते । मर्स्याङ्दी जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेको छ । दैनिक रूपमा वर्षा हुने क्रम जारी रहेको तथा गर्मी बढेकाले हिमाल धेरै पग्लिएर नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमताको ६९ मेगावाट विद्युत् उत्पादन भएको केन्द्रले जनाएको छ ।

सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट पुगेकोमा  हाल बढेर पूर्ण क्षमतामा उत्पादन भएको केन्द्रका प्रमुख पशुपति गौतमले बताउनुभयो । गौतमका अुनसार तीन वटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरूपको ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढ्छ ।

केन्द्रका अनुसार धेरै बाढी आएका बेला गेग्राङहरू थेग्राउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई वटा फ्लाट गेट रहेकाले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानाला पानी धेरै हुने भएकाले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार सुक्खायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुने भएकाले पानीको बहाव थोरै हुने हुँदा विद्युत् उत्पादन घट्छ । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।