• १४ असार २०८१, शुक्रबार

ढुवानी अनुदानले प्याज बिक्रीमा सहज

blog

बाजुरा समाचारदाता

बाजुरा, असार ९ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिका–१, बाहुनीका किसानलाई ढुवानी अनुदानले प्याज बिक्री गर्न सहज बनाएको छ । गाउँपालिकाले किसानको बारीबाट नै ढुवानी अनुदानको व्यवस्था गरेसँगै बाहुनीका कृषकलाई प्याज बिक्रीमा सहज भएको हो ।

ढुवानी अनुदानको व्यवस्था नहुँदा प्याज बिक्रीमा समस्या हुन्थ्यो । अहिले गाउँपालिकाले बारीबाट ढुवानी अनुदानको व्यवस्था गरिदिएपछि प्याज बिक्रीमा निकै सहज भएको कृषक वीरभाने विकले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाले ढुवानी अनुदान दिएपछि मैले यहाँका किसानले उत्पादन गरेको सबै प्याज खरिद गर्दै जिल्लाभन्दा बाहिर बिक्री गर्ने गरेको छु ।”

गाउँमा उत्पादन भएको प्याजले कतै बजार नपाउँदा सड्ने हो कि भन्ने चिन्ता अहिले गाउँपालिकाले ढुवानी अनुदान दिन थालेपछि सकिएको विकले बताउनुभयो । बाजुराकै दुर्गम बस्ती भनेर चिनिँदै आएको बाहुनीका किसान पछिल्लो समय प्याज उत्पादनमा लागिपरेका छन् । अन्नबालीभन्दा प्याज यहाँका किसानले जीविकोपार्जन गर्न सहज देखेपछि पछिल्लो समय किसान प्याज उत्पादनमा लागिपरेका हुन् । गाउँपालिकाले पछिल्लो समय यहाँका किसानलाई कृषिमा उत्प्रेरित गरेपछि अहिले उनीहरू कृषि क्षेत्रमा लागिपरेको स्वामिकार्तिक खापर गाउँपालिकाका कृषि  प्राविधिक सहायक तीर्थबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला यहाँका किसानले अन्नबाली लगाउने गर्थे, त्यसले उनीहरूलाई दुई महिना पनि खान पुग्दैनथ्यो । अहिले प्याज खेती गर्न थालेपछि उनीहरूलाई खान पुगेको छ ।”

जीविकोपार्जनमा सहज हुने गरेर पछिल्लो समय बाहुनीका स्थानीयलाई प्याज उत्पादनमा उत्प्रेरित गर्दै आएको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहुनीका किसानले यो वर्ष झन्डै एक टन प्याज उत्पादन गरे । उनीहरूले उत्पादन गरेको सबै प्याज ढुवानी अनुदान सहयोगमा पिलिचौर, सुर्खेत र नेपालगन्जलगायतका विभिन्न बजारमा बिक्रीवितरण भइरहेको छ ।”