• १४ असार २०८१, शुक्रबार

विमानस्थलमा ह्याङ्गर क्षेत्र विस्तार गरिँदै

blog

काठमाडौँ, असार ९ गते । हेलिकोप्टरको व्यावसायिक उडान भक्तपुरको नलिञ्चोकबाट सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको कामले गति लिने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विमानस्थलको पूर्वतर्फ रहेको क्षेत्रमा जहाज राख्ने ह्याङ्गर क्षेत्र विस्तारको कामले गति लिने भएको हो ।

प्राधिकरण स्रोतले भन्यो, “विमानस्थलको हवाई चाप घटाउने योजनासहित निर्माण गरिएको नलिञ्चोकको हेलिपोर्ट सञ्चालनमा आएसँगै विमानस्थलस्थित हाल बुद्व एयरको ह्याङ्गर रहेको क्षेत्रमा जहाज राख्ने ह्याङ्गर क्षेत्र थप विस्तारको काम अघि बढ्ने छ । हाल हेलिप्याड रहेको क्षेत्रबाट ह्याङ्गरतर्फ जाने पहुँचमार्ग निर्माण गरिने छ ।”

हवाई पूर्वाधारतर्फको विकासले मुलुकको उड्डयन सेवालाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने योजनासहित प्राधिकरणले उक्त क्षेत्रमा एयरबस ३३० र ३२० सिरिजका जहाज अट्ने ह्याङ्गर क्षेत्र विस्तार गर्न लागेको प्राधिकरण स्रोतले जनाएको छ । सुरक्षा तथा आपतकालीन उद्धार, मेडिकल, अति विशिष्ट व्यक्ति बोकेको उडान भने विमानस्थलमै अवतरण हुने छन् । 

प्राधिकरणले हाल विमास्थलको उत्तर (बौद्ध) तर्फ अन्तर्राष्ट्रियतर्फका जहाज पार्किङ क्षेत्र विस्तारको काम गरिरहेको छ । उक्त काम सम्पन्न भएपछि त्यस क्षेत्रमा १७ वटा वाइडबडी र २१ वटा न्यारोबडी जहाज पार्किङ गर्न मिल्ने छ । हाल विमानस्थलमा ११ वटा अन्तर्राष्ट्रियतर्फका र १७ वटा आन्तरिकतर्फका जहाज अट्ने पार्किङ क्षमता रहेको छ ।

प्राधिकरणका अनुसार विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी जहाज सङ्ख्यासमेत बर्सेनि थपिँदै गएपछि विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणको कामसमेत अघि बढाउने तयारी रहको छ । विमानस्थल पूर्वाधार विस्तार गुरुयोजना (सन् २०१०–२०२८) अन्तर्गत विमानस्थलको क्षमता अभिवृद्वि गर्न नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिने नयाँ टर्मिनल भवन निर्माणपछि हालको टर्मिनल भवन आन्तरिक टर्मिनल भवनका रूपमा प्रयोगमा आउने छ । विमानस्थलको उत्तरतर्फको जग्गामा निर्माण हुने नयाँ टर्मिनल भवनबाट अहिलेको भन्दा तीन गुणा बढी हवाई यात्रुले उड्डयन सुविधा लिन सक्ने छन् । करिब एक लाख वर्गमिटर क्षेत्रफल ओगट्ने नयाँ टर्मिनल भवनबाट वार्षिक एक करोड यात्रुले सेवा लिन सक्ने प्राधिकरणले जनाएको छ ।

ड्युटी फ्री सप, व्यापारिक प्रयोजनका लागि कन्फेक्सनरी सप, बिजनेस लाउन्जलगायतको सुविधा रहने नयाँ टर्मिनल भवनमा एरोब्रिजको समेत सुविधा रहने छ । हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै यो सुविधा रहेको छ ।