• १४ असार २०८१, शुक्रबार

कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको छः उपाध्यक्ष सापकोटा

blog

पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा

काठमाडौँ, असार ८ गते । पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मुद्दा मिल्नेहरूसँग खुकुलो प्रकारको मोर्चा बनाइ बृहत् वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीलाई विगतमा जोगाउन नसकिएको उल्लेख गर्नुहुँदै  अहिले बनेको नयाँ समीकरण हुँदै बृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनतिर अघि बढिरहेको जिकिर गर्नुभयो । उहाँले वामपन्थी एकीकरणले सरकार र देश चल्दैन भन्ने टिप्पणी आइरहेको भन्दै उक्त विचार पूर्ण रूपमा खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली जनता वामपन्थीहरूलाई मन पराउने मात्रै नभई फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहिरहेको बताउनुभयो ।

‘‘राजनीतिक पुनर्गठनमा मलाई के लाग्छ भने वृहत् वामपन्थी एकीकरण यो मुद्दा मिल्नेहरूसँग खुकुलो प्रकारको मोर्चा, वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठन । हिजो हामीले पुनर्गठन गरेका थियौँ । त्यसलाई हामीले जोगाउन सकेनौँ । त्यो विघटन भएको छ । आज नयाँ समीकरण बनेको छ । यो नयाँ समीकरण हुँदै हामी वृहत् वामपन्थी एकीकरण हुँदै कम्युनिष्ट पार्टीको पुनर्गठनतिर जाँदैछौँ ।,’’ उपाध्यक्ष सापकोटाले भन्नुभयो, ‘‘भन्न त अहिले के भनिरहेका छन् भने वामपन्थी एकीकरणले न सरकार चल्छ न देश चल्छ । होइन, यो विचारलाई हामी पूरै खारेज गर्न चाहन्छौँ । नेपाली जनता बामपन्थीहरुलाई रुचाउँछन् । वामपन्थीहरूलाई मन पराउँछन् मात्रै होइन, नेपाली जनता फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहन्छन् । त्यसकारण हाम्रो राजनीतिक कार्यदिशाको रूपमा बृहत् वामपन्थी एकीकरण कम्युनिष्ट पार्टीको पुनर्गठन । जस्तो विचार त्यस्तै राजनीतिक कार्यदिशा ।’’

उपाध्यक्ष सापकोटाले समाजवाद भनेको गरिबी नभई सबैका लागि समृद्धि भएको बताउनुभयो ।