• १४ असार २०८१, शुक्रबार

पालिकाले नागरिकको दुर्घटना बिमा गर्ने

blog

अर्जुन काफ्ले 

स्याङ्जा, असार ८ गते । आँधिखोला गाउँपालिकाले पालिकाका सबै नागरिकको दुर्घटना बिमा गर्ने भएको छ । पालिका गाउँसभाको १५ औ अधिवेशनको नीति तथा कार्यक्रममा पालिका भित्रका १३ हजार ९७० जनाको बिमा गर्ने भनिएको छ ।  

हरेक नागरिकको बिमा बापत लाग्ने शुल्क पालिकाले भुक्तानी गर्नेछ भने दुर्घटनामा घाइतेले एक लाख बराबरको औषधी उपचार खर्च पाउने छन् । मृत्यु भएमा एक लाख नगद पालिकाले हस्तान्तरण गर्ने गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो । 

हरेक वडामा मोटर बाटो, हरेक वडा कार्यालय बनाएर सङ्घीयताको प्रत्याभूति गरेको पालिकाले यस आर्थिक वर्षमा समेत स्वास्थ्य, शिक्षा र पूर्वाधारमा चासो देखाएको छ । 

पालिकाले शिक्षा क्षेत्रमा सकारात्मक, गुणात्मक, नतिजामूलक परिवर्तन गर्न अध्यक्ष शैक्षिक सुधार कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटेको छ । विद्यालयमा विद्यार्थीको पहुँच तथा विद्यार्थी सङ्ख्या समेतको आधारमा आवश्यक मापदण्ड निर्माण गरी विद्यालयको नक्साङ्कन, समायोजन तथा एकीकरण, स्थगन, दरबन्दी मिलान गरी विद्यालय व्यवस्थापन गर्ने नीति अवलम्बन गरिने उल्लेख छ ।

“हाम्रो विद्यालय, राम्रो विद्यालय” निर्माणका निमित्त सम्बन्धित विद्यालय अभिभावक तथा सरोकारवालालाई स्वयम् जिम्मेवार बनाउन प्रयत्न गरिने छ भनिएको छ । विद्यालय भवन, छात्रावास, शौचालय निर्माण, सुरक्षित घेरावार, स्वच्छ खानेपानी, सुरक्षित खेलमैदान, फूलबारी, करेसाबारी, बगैँचा निर्माणजस्ता कामलाई विशेष जोड दिने नीति तथा कार्यक्रममा समेटेको छ । 

पालिकाले स्वास्थ्य सेवाको सर्वव्यापी पहुँच भन्दै गर्भवती तथा सुत्केरी महिला, नवशिशू, बालबालिकाको पोषण परामर्श र गुणस्तरीय स्वास्थ्य सेवासहित गर्भवती महिलाका लागि प्रत्येक महिना स्वास्थ्य संस्था गई गर्भजाँच गराउन प्रोत्साहन साथ अण्डा र क्याल्सियम चक्की वितरण साथै उत्तर प्रसूति जाँच सेवाका लागि घर घरमा गई जाँच गर्ने भनिएको छ ।  

दुई बर्षमुनिका बालबालिकाको लागि स्वास्थ्य संस्था, खोप केन्द्र तथा गाउँघर स्वास्थ्य क्लिनिकमार्फत २४ पटकसम्म तौल जाँच गरेको सुनिश्चित गरेबापत प्रोत्साहनको व्यवस्था गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

“बाली बिमा” निःशुल्क बनाई बिमा प्रिमियममा सहुलियत प्रदान गर्दै कृषि उत्पादनमा हुन आउने क्षतिपूर्तिलाई न्यूनीकरण गर्ने नीति पालिकाले लिएको छ । सडक निर्माणको काममा कम्तीमा ५० प्रतिशत स्ट्रक्चरको काम गर्नुपर्ने नीतिलाई निरन्तरता दिएको छ । नयाँ निर्माण गर्नुपर्ने झोलुङ्गे पुल निर्माण र मर्मत सम्भार गरी सञ्चालन हुने झोलुङ्गे पुललाई आवश्यकताअनुसार मर्मत सम्भार गरिने नीति लिएको छ ।

पर्यटनसँग सम्बन्धित क्रियाकलापहरूको समग्र नीतिगत व्यवस्थापन तथा प्रवर्द्धन गर्न पालिकास्तरीय एक पर्यटन विकास समिति गठन गरिने छ । अन्धाअन्धी र श्रवणकुमार क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनलाई टेवा पुर्‍याउन “जाऊँ है अन्धाअन्धी श्रवणकुमार अभियान“ सञ्चालन गर्ने नीति पनि पालिकाले लिएको छ ।

करदातालाई आफूले तिर्नु पर्ने मोटामोटी कर दायित्व र कर तिर्ने समयसीमा समयमै जानकारी दिन निजको सेल नम्बरमा विद्युतीय प्रणालीद्वारा सन्देश प्रवाहित गर्ने नीति पालिकाले लिएको छ ।