• १२ असोज २०८१, शनिबार

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेगरी बजेट ल्याएका छौँ : अर्थमन्त्री

blog

अर्थमन्त्री वर्षमान पुन

काठमाडौँ, असार ८ गते । अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको बताउनुभएको छ ।

शनिबार काठमाडौँमा नेकपा (माओवादी केन्द्र) अछाम-काठमाडौँ सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेटमा कृषि, पर्यटन, जलविद्युत, आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रमा रूपान्तरण ल्याउने क्षेत्रका रूपमा अघि सारिएको बताउनुभयो ।

‘‘अहिले हामीले बजेटमा पनि उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा निर्देशन भएर । कृषि, पर्यटन, जलविद्युत, आइटी र उत्पादनमूलक क्षेत्रहरू नेपालको अर्थतन्त्रमा रूपान्तरण ल्याउने क्षेत्र हुनसक्छन् । सात प्रदेशका सात वटा विशेषता छुट्याएका छौँ ।,’’ मन्त्री पुनले भन्नुभयो, ‘‘सुदूरपश्चिमलाई पर्यटकीय हबको रूपमा विकास गर्नुपर्छ भनेर लगानी कर्तालाई आह्वान गरेका छौँ । एउटा प्रदेशले एउटा विशेषतामा लैजाने भन्ने किसिमबाट बजेट प्रस्तुत गरेका छौँ । अरू हाम्रो पार्टी, कार्यकर्तालाई पनि उत्पादनसँग जोड्ने आयोजनाहरू, रोजगारी सम्बन्धी कार्यक्रमहरू अघि सारेका छौँ। उत्पादनसँग जोडिनुपर्छ ।’’

उहाँले सात प्रदेशका सात वटा विशेषता छुट्याएको बताउनुभयो । उहाँले सुदूरपश्चिमलाई पर्यटकीय हबको रूपमा विकास गर्नेगरी बजेटमा विनियोजन गरिएको बताउनुभयो । उहाँले सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने गरी काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले मानिस धनी हुने मात्रै नभई समानतातिर लैजाने किसिमले उत्पादन केन्द्रित बजेट ल्याएको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘उत्पादनसँग जोडिने, श्रम गर्ने, ट्याक्स तिर्ने, र आफ्नो उत्पादनलाई आफैँले प्रयोग गर्ने काम गरौँ भनेका छौँ। सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने र सोह्रौँ आवधिक योजनालाई बोक्ने मुख्य नारा बनाएको छ । हामी केही मानिस धनी हुने मात्रै नभई समानतातिर लैजाने किसिमले उत्पादनमा केन्द्रित छौँ । भ्रष्टाचार लगायत विभिन्न खालका विकृति नियन्त्रण गरेर मात्रै सुशासन स्थापित गर्नसक्छौँ ।’’

उहाँले समाजको नैतिक धरातललाई नबिर्सीकन काम गर्दा समाज र देश समृद्ध बन्ने बताउनुभयो ।