• १४ असार २०८१, शुक्रबार

इटालीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

blog

रोम, असार ८ गते । इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी जहाज दुर्घटनामा थप १४ जनाको शव फेला परेसँगै र मृतकको सङ्ख्या ३४ पुगेको पुष्टि गरेको छ।

“यस हप्ताको सुरुमा क्यालाब्रियाको तटमा भएको डुङ्गा दुर्घटनामा ११ जनाको उद्धार गरिएको थियो भने ६० भन्दा बढी बेपत्ता भएका थिए’’ , तटरक्षकले एक विज्ञप्तिमा जानकारी गरायो ।

बेपत्ता व्यक्तिहरूको लागि हवाई एवम् समुद्री खोजी जारी रहेको बताएको छ । तटरक्षकले बिहीबार महिला र बालबालिका सहित १२ जनाको शव फेला परेको जानकारी गराएको हो ।

यस हप्ताको सुरुमा मेडिकल च्यारिटी डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले कम्तीमा २६ जना बालबालिका सहित ६६ जना बेपत्ता भएको जानकारी दिएको थियो ।

जर्मन सहायता समूह ‘रेस्क्युशिप’का अनुसार सोमबार इटालीको लम्पेडुसा टापुमा डुबेको आप्रवासी डुङ्गामा १० जनाको शव फेला परेको थियो ।

संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनका अनुसार गत वर्ष भूमध्यसागरमा करिब ३ हजार १५५ आप्रवासीको मृत्यु र बेपत्ता भएका थिए । यस वर्ष अहिलेसम्म एक हजारभन्दा बढीको मृत्यु र बेपत्ता भएका छन् ।

उत्तरी अफ्रिका र इटाली र माल्टाबिचको क्षेत्र भूमध्यसागर विश्वको सबैभन्दा घातक आप्रवासन मार्ग हो । रासस/एएफपी