• १४ असार २०८१, शुक्रबार

म्याग्दीमा डेढ करोड लगानीमा पर्यटन पूर्वाधार निर्माण

blog

पर्यटकीय स्थलमा निर्माण गरिएका पूर्वाधार । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार ८ गते ।
 म्याग्दीमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले डेढ करोड रुपियाँभन्दा बढी लगानीमा पर्यटकीय स्थलहरूमा पूर्वाधार निर्माण गरेको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न पर्यटकीय स्थलहरूमा पदमार्ग, घेराबार, प्रवेशद्धार, रेलिङ, भ्यू प्वाइन्ट, पिकनिङस्थल लगायतका पूर्वाधारहरू निर्माण भएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका अनुसार मन्त्रालयबाट प्राप्त भएको एक करोड ५६ लाख रुपियाँको बजेटबाट पर्यटकीय स्थलहरूमा १८ वटा योजनाहरू मार्फत पूर्वाधार निर्माण गरिएको छ ।

विभिन्न स्थानहरूमा रहेका पर्यटकीय स्थल सम्म पुग्न ७ किलोमिटर ४८ मिटर नयाँ ट्याक बनाउने, ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउने काम भएको पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीका प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार, १ किलोमिटर ७२ मिटर पदमार्गमा ढुङ्गा छापेर पदमार्ग बनाइएको छ भने १ किलोमिटर ८२ मिटर पदमार्गलाई ढलान गरेर निर्माण गरिएको छ । पर्यटन पूर्वाधार बनेपछि पर्यटक प्रवर्द्धनमा टेवा पुग्नुका साथै स्थानीयवासीलाई सुविधा पुगेको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

जिल्लाको मुख्य पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका ५ खोप्रालेकमा २० लाख रुपियाँको बजेटमा पदमार्ग, भ्यू पाइन्ट निर्माणसँगै खानेपानीको पूर्वाधार निर्माण गरिएको छ । जिल्लाकै ऐतिहासिक धार्मिक स्थलहरू ताकमकोट, ज्यामरुकोट, चिनाकोटमा १०÷१० लाख बजेटबाट पदमार्ग, रेलिङ लगायतका पर्यटन पूर्वाधार निर्माण भएका छन् । बेनी नगरपालिका–९ स्थित ढोलठानमा  १० लाख बजेटबाट पदमार्ग, प्रवेशद्धार वनभोज स्थल र रेलिङ निर्माण भएको कार्यालयले जनाएको छ ।

महभिरदेखि करबाकेलीथान जाने बाटो, पनथोकदेखि मालिका जोड्ने बाटो, गलेश्वर–काउलेगौडा–नेप्टेचौर ढोलठान जाने बाटो, दर्मिजा–नांगीदेवि थान बाटो, लामाखोरिया–डाँडागाउँ जोड्ने बाटोमा १०/१० लाख बजेटबाट पदमार्ग निर्माण र विस्तार गरिएको छ ।

यसैगरी, बेनी स्थित डल्लेपिपल–फोहोटे रिठाबोट र रघुगंगा गाउँपालिका–२ भगवतीको अन्नपूर्ण आधारभूत विद्यालयदेखि हवल्दारको चौतारासम्म आठ/आठ लाख बजेटबाट सिँढी चिनेको पदमार्ग निर्माण गरिएको छ ।

बेनी नगरपालिका– १ रत्नेचौरमा रहेको परम वैदिक धार्मिक सनातन आश्रम, सारेमारे–भूवाने, भालश्री छापाछाङ औँसी– खालिखोला, बलौटे–दुखुबेशी, कालीबराह ताल, शिलखुङ– चाङ्गा जोड्ने बाटोमा पाँच/पाँच लाख बजेटबाट पदमार्ग निर्माण तथा संरक्षणको काम गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले जानकारी दिएको छ ।