• १४ असार २०८१, शुक्रबार

कारागारबाट सुरुङ खनेर फरार भारतीय नागरिक १४ वर्षपछि पक्राउ

blog

कपिलवस्तु प्रहरीले १४ वर्षपछि पक्राउ गरेको फरार भारतिय नागरिक । तस्बिर : जिल्ला प्रहरी कार्यालय कपिलवस्तु

नारद कोहार
तौलिहवा (कपिलवस्तु), असार ८ गते ।
 सुरुङ खनेर कपिलवस्तु कारागारबाट फरार भारतीय नागरिक १४ वर्षपछि पक्राउ परेका छन् । भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर चिल्हिया घर भएका स्कुलमिया अन्सारी भनिने मोहम्मद स्कुल पक्राउ परेका हुन् । कारागारबाट २०६६ साल माघ २ गते स्कुलसहित आठ जना सुरुङ खनेर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार स्कुललाई शिवराज नगरपालिका ७ बाट प्रहरीको विशेष टोलीले पक्राउ गरेको बताउनुभयो । अदालतले उनलाई ६ वर्ष पाँच महिना नौ दिन कैद र चार लाख ५० हजार जरिवाना असुलउपर गर्नुपर्ने निर्णय गरेको थियो । उनीसहित आठ जना २१ फिट सुरुङ खनेर २०६६ माघ २ गते कारागारको पूर्वी पर्खालबाट भागेका थिए ।

कारागारबाट भाग्नेहरूमा डाँका मुद्दामा कैद सजाय भोग्दै आएका मोहम्मद स्कुलसहित कर्तव्य ज्यान मुद्दाका रामजस मौर्य, प्रभु तेली र श्रवणकुमार मुराउ थिए । त्यस्तै लागूऔषधका सन्तोष कहार, हातहतियार तथा खरखजाना मुद्दाका केदार साहनी, बगेदु मुसलमान र जबरजस्ती करणी मुद्दाका सन्तकुमार पासी कारागारबाट भागेका थिए ।

सुरुङ खनेर भागेका सात जना फरार प्रतिवादीलाई कपिलवस्तु प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । मोहम्मद स्कुल पक्राउ परेसँगै सुरुङ खनेर भागेका आठ जना फरार प्रतिवादीमध्ये सबैलाई पक्राउ गर्न कपिलवस्तु प्रहरी सफल भएको प्रहरी उपरीक्षक पौडेलको भनाइ छ । कपिलवस्तु प्रहरीले चालु आर्थिक वर्षको हालसम्म एक सय २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।