• १२ असोज २०८१, शनिबार

पर्यटकको रोजाइमा वेतना सिमसार

blog

वेतना सिमसार । फाइल तस्बिर

बेलबारी (मोरङ) असार ८ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा रहेको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतनामा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गरका साथै हरिणलगायत पशुपन्क्षीले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेका छन् । 

दुई प्रजातिका वेत वनस्पतिको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शम्भु भट्टराईले बताउनुभयो । यहाँ विशेष गरी चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्य भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको उहाँको भनाइ छ । उहाँका अनुसार सिमसार घुम्न आउने पर्यटकका लागि पाइडल डुङ्गाको पनि व्यवस्था गरिएको छ ।

करिब ६५ बिघा क्षेत्रफल ओगटेको यस सिमसारमा साइबेरियाबाट आउने चराका साथै २५ प्रजातिका दुर्लभ चरा पाइन्छन् । साथै अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा फेला परेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । यहाँ पाइने वनस्पति, पशुपन्छीको संरक्षणमा उपभोक्ता समिति लागिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति यस क्षेत्रमा पाइन्छन् । 

सिमसारबाट आउने पानीले करिब एक हजार दुई सय बिघा खेतीयोग्य जमिनमा सिँचाइ हुँदै आएको समितिका सचिव सुजित बस्नेतले जानकारी दिनुभयो । “यहाँ आउने पर्यटका साथै सय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग क्षेत्रतर्फ तारले घेराबारा गरिएको छ भने यस क्षेत्रलाई थप आकर्षक बनाउन फूलबारी, विश्रामस्थल, वनभोजस्थल निर्माण गरिएको छ”, उहाँले भन्नुभयो । 

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईका अनुसार वेतना सिमसारलाई पूर्वी नेपालको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय विभिन्न गोष्ठी र सेमिनारका लागि देशका विभिन्न स्थानबाट समूहमा आगन्तुक आउने गरेका छन् । वेतनामा दैनिक तीन सयभन्दा बढी र बिदाको समयमा पाँच सयभन्दा बढीको सङ्ख्यामा आन्तरिक पर्यटक अवलोकन गर्न आउने गरेका समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सिमसार प्रवेशबापत ३० को टिकट निर्धारण गरिएको छ । रासस