• १४ असार २०८१, शुक्रबार

सडक स्तरोन्नतिका लागि सम्झौता

blog

सन्तोष सुवेदी

कास्की, असार ८ गते । विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाघमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृति मावि) तगारेगौडा–तल्लो गगनगौडा सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । 

सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र निर्माण कम्पनी आशिस निर्माण सेवा प्रालि भरतपुरसँग सम्झौता भएको हो । ३९० दिनमा निर्माण सम्पन्न गर्नेगरी पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र निर्माण कम्पनीका प्रतिनिधिबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

विश्व बैङ्कको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपियाँ लागत सहयोगमा निर्माण हुने सडकको सेक्सन एक र दुई गरी दुई वटा खण्डमा काम हुनेछ । सडकको पहिलो सेक्सनमा वडा ३३ को कार्यालयदेखि उपल्लो पुँडीटारसम्म ९.६२७ किमी र दोस्रो सेक्सनमा पहिलो सेक्सनको जक्सनदेखि तल्लो गगनगौडा (पृथ्वीराज मार्ग) सम्म २.८१३ किमी सडक निर्माण हुनेछ । परियोजना अन्तर्गत करिब १२.४४ किमी सुविधा सम्पन्न सडक निर्माण हुनेछ । 

७ मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ । सडकको दायाँबायाँ ड्रेनसहितको २–२ मिटरको फुट ट्र्याक निर्माण हुनेछ । सम्झौता पश्चात् परियोजनाको जोइन्टसर्वेको काम सुरु भइसकेको छ । अबको केही दिनमा फिल्डमा काम सुरु हुने बताइएको छ । सडक स्तरोन्नतिको काम तोकिएको समयमा सम्पन्न गर्न र निर्माणमा गुणस्तर कायम गर्न निर्माण कम्पनीलाई प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले निर्देशन दिनुभयो ।

यसअघि विश्व बैङ्कका दक्षिण एसिया क्षेत्र हेर्ने प्रमुख समेतको उपस्थितिमा परियोजनाको स्थलगत अवलोकन गरिएको थियो । सो क्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सडकको स्तरोन्नतिका लागि परियोजना छनौटको प्राथामिकीकरणमा जोड दिनुभयो । ३ अरब रुपियाँ आर्थिक सहायतामध्ये ताल चोक बेगनास सडकको लगानीबाट बचेको रकम परिचालन सम्बन्धमा विश्व बैङ्कले परियोजना प्रस्ताव गर्न आग्रह गरेबमोजिम प्रमुख आचार्यले सो सडक स्तरोन्नतिलाई प्राथमिकतामा राख्नु भएको हो । 

यसका अलावा विश्व बैङ्ककै सहयोगमा शिशुवा–शिशाघाट सडकको समेत काम थालिएको छ । हाल पोखरामा विश्व बैङ्कको आर्थिक सहयोगमा तालचोक बेगनास सडक निर्माण र शिशुवा–शिशाघाट सडक निर्माण परियोजना सञ्चालनमा छ ।