• १४ असार २०८१, शुक्रबार

भूकम्पको नौ वर्षपछि असनको ‘इटाचापा’ पुनर्निर्माण

blog

असनमा रहेको ‘इटाचापा’ भवन पुनर्निर्माणका लागि भत्काइँदै । तस्बिर : पूर्णप्रसाद मिश्र/रासस

काठमाडौँ, असार ८ गते । वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका-२७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनर्निर्माण सुरु भएको छ ।

वि.सं. १९९० को भूकम्प थेगेको यो सम्पदा २०७२ मा भत्केपछि यसको पुनः निर्माणमा गुठी संस्थान र काठमाडौँ महानगरपालिकाबिच केही समय हानथाप भएको थियो । सम्पदा महानगरअन्तर्गतको भएकाले वडाको पहलमा पुनः निर्माण थालिएको वडा नम्बर २७ का अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिनुभयो । 

ऐतिहासिक महत्वको सम्पदा दुई करोड ४९ लाख ३७ हजारमा मा पुनर्निर्माण थालिएको उहाँले बताउनुभयो । तीन वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यो भवनमा प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा छ । यसलाई नेपाल भाषामा ‘मरजा’ भनिन्छ । 

सोही दिन यहाँ अन्नपूर्णाको जात्रा पनि चलाइन्छ । वि.सं.२०४० सम्म ल्हासाबाट सामान ल्याउने व्यापारी १० दिनसम्म यहाँ बस्ने गरेका उहाँले बताउनुभयो । ल्हासा–काठमाडौँ यात्राका क्रममा कुनै रोगको सङ्क्रमण भए त्यो १० दिनमा प्रभावहीन हुने ठानेर उनीहरू एकान्तबास बसेका आफूले पनि देखेको वडा अध्यक्ष खड्गीले बताउनुभयो । रासस