• १२ मंसिर २०८१, बुधबार

रत्नमन्दिर : प्रचार नहुँदा छैनन् पर्यटक

blog

सन्तोष सुवेदी 

कास्की, असार ८ गते  । पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरिएको एक वर्ष पूरा भइसके पनि यो पर्यटकको गन्तव्य बन्न सकेको छैन । गणतन्त्र दिवसको अवसर पारेर गत वर्ष तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले रत्नमन्दिर र पार्क खुला हुने गरी उद्घाटन गर्नुभएको थियो । 

ऐतिहासिक महìव बोकेको रत्नमन्दिर खुलेको खण्डमा पर्यटकका लागि घुम्ने नयाँ गन्तव्य थपिने आशाका साथ पर्यटकीय क्षेत्र लेकसाइडका व्यवसायीले बारम्बार सरकारी निकायलाई झकझकाएका थिए । व्यवसायीले जुन अर्थमा रत्नमन्दिर परिसर खुलाउन सरकारलाई आग्रह गरे पनि मन्दिरमा सोचे जस्तो पर्यटक भने भित्रिएका छैनन् । पोखरामा आन्तरिक पर्यटकको आगमन बढिरहेको व्यवसायीले नै बताउने गरेका छन् तर तीमध्ये न्यून पर्यटक मात्रै रत्नमन्दिर छिरेको नेपाल ट्रस्टको तथ्याङ्कले देखाउँछ । 

नेपाल ट्रस्ट कार्यालय पोखराका प्रमुख मीनप्रसाद लामिछानेका अनुसार रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरिएको एक वर्षमा २१ हजार २९३ आन्तरिक तथा बाह्य पर्यटकले मन्दिर प्रवेश गरेका छन् । “ट्रस्टको निर्देशिकामा घुम्न आउने पाहुनालाई पाँच क्याटगोरीमा छुट्याएको छ ।” 

उहाँले भन्नुभयो, “एक वर्षको अवधिमा चीन र भारतबाहेकका सार्क राष्ट्रका पर्यटकको सङ्ख्या जम्मा छ जना छ । यो अन्य सङ्ख्यामा निकै कम छ ।” लामिछानेका अनुसार रत्नमन्दिर अवलोकन गर्न आउने पर्यटकले काटेको टिकटबाट १९ लाख ५३ हजार ५० रुपियाँ सङ्कलन भएको छ । पोखरामा जुन अनुपातमा आन्तरिकदेखि बाह्य पर्यटक आउँछन् ती सबै रत्नमन्दिर प्रवेश गर्न आउँदैनन् । दैनिक २२÷२३ जना पर्यटक मन्दिर प्रवेश गर्छन् ।

रत्नमन्दिरबारे प्रचारप्रसार कम भएको हुन सक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “रत्नमन्दिरको बाहिरी गेट खुला भए पनि मुख्य दरबार खुलेको छैन । गेटमै सैनिक बसेका हुनाले पनि धेरैले रत्नमन्दिरलाई आर्मी ब्यारेक ठानेकाले घुम्न जाने आँट नगरेको हुन सक्छन् । धेरैलाई रत्नमन्दिर घुम्नलायक गन्तव्य हो भन्ने पनि थाहा छैन । यसका लागि प्रवर्धनको आवश्यक रहेको छ ।” उहाँका अनुसार रत्नमन्दिर घुम्नलायक गन्तव्य भनेर कतै पनि पर्चा पम्प्लेटमा उल्लेख नहुँदा पोखरा आउने पर्यटक मन्दिर घुम्न पुगेका छैनन् । हिजो व्यवसायीकै दबाबमा रत्नमन्दिर खुलेको हो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा भित्रिएका पाहुनाको बसाइ अवधि बढाउन सघाउने अपेक्षाले खुलेको सम्पदा अहिले सुनसान जस्तै बन्नु विडम्बना रहेको बताउनुभयो । 

पोखरा–८, लेकसाइडस्थित १७४ रोपनी क्षेत्रफलमा फैलिएको पार्कसहितको रत्नमन्दिर २०१५ सालमा राजा महेन्द्रले आफ्नी श्रीमती रत्नको नाममा बनाउन लगाएका र राजपरिवारका सदस्य पोखरा आउँदा बस्ने गरेका थिए । लामो समय राजदरबारको सम्पत्ति र राजा पोखरा आउँदा बस्ने दरबारका रूपमा स्थापित यो पार्क २०६७ सालपछि नेपाल ट्रस्टको मातहत गएको थियो । रत्नमन्दिर परिसरभित्र ऐतिहासिक रत्नमन्दिर दरबारलगायत तालघर, बालबगैँचा गरी सानाठुला १० वटा भवन छन् । दरबारभित्र बैठक कक्ष, राजारानीको शयन कक्ष, शाही नातेदारले प्रयोग गर्ने शयन कक्ष, डाइनिङसहित ११ वटा कोठा छन् ।