• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिमको आर्थिक सर्वेक्षण प्रस्तुत

blog

सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुहुँदै मन्त्री सुरेन्द्रबहादुर पाल।तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, जेठ ३२ गते। सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत गरिएको छ। आज बसेको प्रदेश सभामा आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको हो। चालु आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादन चार खर्ब चार अर्ब २८ करोड रुपियाँ रहने अनुमान गरिएको छ।

यसैगरी, चालु आर्थिक वर्षमा यस प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत रहने अनुमान छ।गतआर्थिक वर्ष आर्थिक वृद्धिदर १.५२ प्रतिशत रहेको थियो।यस्तै, राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा सुदूरपश्चिम प्रदेशको योगदान ७.१ प्रतिशत रहने अनुमान छ।

चालु आर्थिक वर्षको फागुनसम्मको औसत मुद्रास्फिति ४.८२ प्रतिशत, कृषि क्षेत्रको वृद्धिदर ३.४२ प्रतिशत, सेवा क्षेत्रको वृद्धिदर ४.०९ प्रतिशत धनात्मक तथा वित्तीय क्षेत्रको वृद्धिदर ०.५० प्रतिशत ऋणात्मक हुने अनुमान छ।

गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको आय १.०६३ अमेरिकी डलर रहेको थियो।चालु आर्थिक वर्षमा सो आय १.१११ अमेरिकी डलर रहने अनुमान रहेको मन्त्री पालले बताउनुभयो। चालु आर्थिक वर्षको फागुनसम्म प्रदेश सरकारको आय गतआर्थिक वर्षको सोही अवधिसम्मको १३.५६ प्रतिशतले घटी भएर १७ अर्ब ९९ करोड ४७ लाख पुगेको छ।चालु आर्थिक वर्षको फागुनसम्म प्रदेश सरकारले ७६ करोड ६४ लाख रुपियाँ आन्तरिक राजस्व संकलन गरेको थियो।

गएको फागुनसम्म प्रदेश सरकारले सात अर्ब १४ करोड ७३ लाख रुपियाँ बजेट खर्च गरेको थियो।जसमध्ये चालुखर्च तीन अर्ब ७० करोड २४ लाख र पुँजीगत खर्च तीन अर्ब ४४ करोड ४९ लाख रुपियाँ रहेको छ।

फागुनसम्म आन्तरिक राजस्वमध्ये कर राजस्व ४४ करोड १३ लाख र गैरकर राजस्व ३२ करोड ५१ लाख रुपियाँ रहेको जनाइएको छ।फागुनसम्म प्रदेश सरकारको बजेट १० अर्ब ८४ करोड ७४ लाख रुपियाँ र राजस्व घाटा दुई अर्ब ९३ करोड ६१ लाख रुपियाँ रहेको छ।चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादनमा बजेट सन्तुलनको अनुपातमा १.२० प्रतिशत राजस्व घाटाको अनुमान १.८० प्रतिशत रहेको मन्त्री पालले बताउनुभयो।