चित्र मिजार
सिन्धुपाल्चोक, जेठ ३० गते । ब्रह्मायणी नदीस्थित माथ्लो ढाँडे आले देउराली झोलुङ्गे पुल निर्माण गरिएको छ । नवनिर्माण पुलको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले उद्घाटन गर्नुभएको छ ।
स्वाप संस्थाबाट २७ लाख ७७ हजार ४९३ रुपियाँ ९६ पैसा, जुगल गापाबाट चार लाख ५३ हजार ८१६ रुपियाँ १४ पैसा, नेपाल सरकार लठा बुल्डग ग्रिप्स एक लाख ८९ हजार ८९६ रुपियाँ २० पैसा र स्थानीय श्रमदानबाट ६९ हजार ८२० रुपियाँ ९५ पैसा बजेटबाट कुल ३४ लाख ९१ हजार ४७ रुपियाँ ५० पैसामा उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले जानकारी दिनुभयो ।
पुल निर्माण भएपछि जुगल गापा–१ र ५ नम्बरका हजारौं हिमाली क्षेत्रका स्थानीयलाई लाभ मिलेको अध्यक्ष स्याङ्बोले जानकारी दिनुभयो । ५६ मिटरको सो पुलबाट ३१६ घर लाभन्वित हुनेछन् । वषौंदेखि स्थानीय ज्यान जोखिममा राखेर ब्रह्मायणी खोला तर्नुपर्ने बाध्यता थियो । तर दोस्रो पटक निर्वाचित जनप्रतिनिधिले उक्त बाध्यता हटाई सहजता दिलाएको स्थानीयहरुले जनाएका छन् । जनताका दैनिकीमा सहजता मिल्ने कार्यक्रमलाई जोड दिँदै आएको स्याङ्बोको भनाइ छ ।