• १२ साउन २०८१, शनिबार

जिरीताल निर्माण अन्योलमा

blog

सुजन काफ्ले 

चरीकोट, जेठ २९ गते । बागमती प्रदेश सरकारको गौरवको आयोजना मानवनिर्मित जिरीतालको निर्माण अन्योलमा परेको छ । दुई वर्षअघि प्रदेशको गौरवको आयोजनाका रूपमा ताल निर्माण गर्ने भनिए पनि अहिले ताल निर्माणको काम अन्योलमा परेको हो  । 

जिरी कृत्रिम ताल निर्माण सुरु गर्न बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा १५ करोड रुपियाँ विनियोजन गरेकोमा निर्माणको काम अगाडि बढ्न नसकेपछि बजेट फ्रिज भएको थियो । 

चालु आवमा प्रदेश सरकारले तीन करोड रुपियाँ विनियोजन गरे पनि अहिलेसम्म कुनै काम अगाडि बढ्न सकेको छैन । आवमा सम्पन्न हुन लाग्दा पनि काम सुरु नभएकाले यस पटक पनि बजेट फ्रिज हुने सम्भावना रहेको सिँचाइ डिभिजन कार्यालय दोलखाका लेखा शाखा प्रमुख छत्र कटुवालले बताउनुभयो । 

डिभिजन सिँचाइ कार्यालय दोलखाले ताल निर्माणका लागि जग्गाको लगत सङ्कलन गर्ने काम गत वर्ष नै सम्पन्न गरेको थियो । नापी कार्यालय तथा मालपोत कार्यालय दोलखाबाट आयोजनाको क्षेत्रभित्र पर्ने जग्गाको लगत लिई अध्ययन गर्दा ताल निर्माणका लागि करिब सात सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको थियो । 

सो कार्यालयले कार्यसूची तथा क्षेत्र निर्धारण प्रतिवेदन बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पठाएको छ । उक्त मन्त्रालयले प्रदेशको वन तथा वातावरण मन्त्रालय पठाएको र वन मन्त्रालयले प्रतिवेदनको आवश्यक परिमार्जन गरी पुनः पेस गर्न डिभिजन सिँचाइ कार्यालय दोलखामार्फत परामर्शदातालाई अनुरोध गरिएकामा परामर्शदाता कम्पनीले परिमार्जन गरी खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पठाइसकेको सिँचाइ डिभिजन कार्यालय दोलखाका प्रमुख रूपेश महतले बताउनुभयो ।

ताल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको प्रयोजनका लागि लगत सङ्कलन गर्ने कार्य सम्पन गरेर मुख्यमन्त्री कार्यालयमार्फत सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाइएको उहाँले बताउनुभयो । सिँचाइ मन्त्रालयले मन्त्रीपरिषद्मा पेस गर्ने र मन्त्रीपरिषद्ले पास गरेपछि वातावरणीय अध्ययन प्रतिवेदनको काम अगाडि बढ्ने उहाँको भनाइ छ ।

एक किलोमिटर लामो तथा दुई सय मिटर चौडाइको हुने सो ताल निर्माणका लागि डुबान हुने क्षेत्रभित्र पर्ने १५१ कित्ता तथा ताल वरिपरि आवश्यक पूर्वाधार निर्माण तथा अन्य प्रयोजनका लागि ३३९ कित्ता अधिग्रहण गर्नुपर्ने कार्यालयले जनाएको छ । 

डिपिआर अनुसार निर्माण लागत तीन अर्ब १७ करोड रुपियाँ रहेको यो ताल निकै आकर्षक र पर्यटकीय दृष्टिले महŒवपूर्ण हुने कार्यालयले जनाएको छ । सगरमाथाको द्वार तथा नेपालको स्विट्जरल्यान्ड नामले चर्चित दोलखाको पर्यटकीय नगर जिरी अहिले सुस्ताएकाले पुरानै लयमा फर्काउन जिरीतालले सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

जिरीताल निर्माण र खस्किएको पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन स्थानीयले जिरी नगरपालिकाका पूर्वप्रमुख, दोलखाबाट निर्वाचित प्रदेश सभा सदस्य र सङ्घीय सांसदलाई जिरीताल कहिले बन्छ भनेर म्यासेज गरेर केही समयअघि खबरदारी गरेका थिए । 

जिरी नगरपालिकाका प्रमुख मित्र जिरेलले जिरी ताल निमार्णका लागि नगरपालिकाले पहल गरिरहेको बताउनुभयो । नगरपालिकाले मुख्यमन्त्री कार्यालय हुँदै ऊर्जा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म पुगेर जिरीतालको काम अगाडि बढाउन आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाको गौरव र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्य जिरीमा ताल निर्माण गर्न नगरपालिका सहयोग गर्न तयार रहेको छ ।” 

सबै काम सकेर जग्गा प्राप्तिका लागि सङ्घीय सरकारमा पुगेर ताल निर्माणको प्रव्रिmया रोकिएको प्रमुख जिरेलले बताउनुभयो । जिरी ताल निर्माण प्रव्रिmया अगाडि बढाउन नगरले सङ्घीय र प्रदेश सभा सदस्यलाई आग्रह गरेको उहाँले बताउनुभयो ।