• ११ मंसिर २०८१, मङ्गलबार

एमाले फुङ्लिङ नगरमा लावतीको प्यानल विजयी

blog

नेकपा (एमाले) फुङ्लिङ नगर कमिटीका नवनिर्वाचित कार्यसमिति।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २६ गते। नेकपा (एमाले) फुङ्लिङ नगर कमिटीमा ज्ञानेन्द्र लावतीको प्यानल विजयी भएको छ। ताप्लेजुङको एकमात्र फुङ्लिङ नगरपालिकामा एमाले नगर कमिटीको चौथो अधिवेशनबाट लावतीको प्यानल विजयी भएको हो।

शुक्रबार राति अबेर सम्पन्न नगर अधिवेशनबाट गमबहादुर फुरुम्बो लिम्बूको प्यानललाई पराजित गर्दै लावतीको प्यानल विजयी भएको हो। नगर अधिवेशन निर्वाचन समितिका अनुसार एमाले नगर कमिटी चयनका लागि कुल १३६ मत खसेको थियो। उक्त मत सङ्ख्यामध्ये ८८ मत प्राप्त गरी अध्यक्ष पदमा लावती निर्वाचित हुनुभएको हो।

अध्यक्षका अर्का प्रत्याशी फुरुम्बोले ४१ मत पाउनुभएको थियो। यस्तै उपाध्यक्षमा ८० मत प्राप्त गरी दुर्गाप्रसाद गुरुङ निर्वाचित हुनुभयो भने पराजित उपाध्यक्षका प्रत्याशी अशोक थेबेले ४६ मत मात्र पाउनुभएको छ। सचिवमा ८७ मत ल्याएर सन्तोष भट्टराई निर्वाचित हुँदा अर्का प्रत्याशी लीलानाथ पौडेलले ४० मत पाउनुभएको छ।

यसैगरी उपसचिव द्वयमा रूपक घिमिरे र शोभा बराल निर्वाचित हुनुभएको छ। नगर कमिटी पदाधिकारी सबै र अधिकांश सदस्य पनि लावती प्यानलका निर्वाचित हुनुभएको बताइएको छ। यता निर्वाचित नगर कमिटी गएको वैशाख अन्तिम साता सम्पन्न एमाले ताप्लेजुङको १२ औँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजित बलबहादुर साम्सोहाङ पक्षको प्यानल हो।

जिल्ला अध्यक्ष डम्बरध्वोज तुम्बाहाम्फे पक्षको प्यानल नगर कमिटीमा पराजित भएको बताइएको छ। जिल्लाका नौ वटा स्थानीय तहमध्ये अधिकांश पालिका कमिटी चयनका लागि अधिवेशनहरू सम्पन्न भएका एमाले ताप्लेजुङले जनाएको छ। कमिटी चयनका लागि सर्वसम्मत नभएका पालिकामा निर्वाचनको प्रक्रियामार्फत कमिटी चयन गरिँदै आएको जिल्ला कमिटी सचिव सन्तोष चाम्लिङ राईले जानकारी दिनुभयो।