• १२ असार २०८१, बुधबार

सगरमाथा उचाइ र कमाइ

blog

यही २०८१ जेठ १६ गते अर्थात् सन् २०२४ मे २९ का दिन १७ औँ ‘विश्व अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ मनाइयो । स्मरण रहोस्; नेपालमा मात्रै नभएर न्युजिल्यान्ड, अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा, भारत (भारतको सिक्किम राज्य) लगायतका देशमा पनि ‘विश्व अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ मनाइने गरिन्छ ।  तथ्याङ्क अनुसार हालसम्म ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ आरोहण गर्ने पर्वतारोहीको सङ्ख्या (सन् २०२३ को स्प्रिङ सिजनसम्म, विसं २०८० को वैशाख–जेठ) ११ हजार ९९६ पुगिसकेको छ । यो सङ्ख्यामा कसैले दोस्रो पटक, कसैले तेस्रो पटक, कसैले पटक पटक आरोहण गरिसकेका छन् । जस्तै कामिरिता शेर्पाले (सन् २०२४ को वसन्त ऋतुमा दुई पटक गरेर) ३० पटक आरोहण गरिसक्नुभएको छ । तथ्याङ्क हेर्दा हालसम्म विश्वका विभिन्न देशका पर्वतारोहीले पाँच हजार ८९९ पटक (पैसा तिरेर सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोही) र नेपाली शेर्पा (जसलाई विदेशी पर्वतारोहीले पैसा तिरेर कामदारका रूपमा लिएका) ले छ हजार ९७ पटक सगरमाथा आरोहण गरिसकेका छन् । यसरी स्वदेशी तथा विदेशी गरेर ११ हजार ९९६ पटक ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ हिमालको शिरमा मानव पाइलाले स्पर्श गरिसकेको छ । (स्रोत ः अमेरिकी पर्वतारोही तथा पर्वतारोहण प्रशिक्षक अलान–एलेन आर्नेट्टेको ब्लग)  

साथै यो लेखमा ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ आरोहणको इतिहासबारे र सगरमाथाको उचाइका सम्बन्धमा पनि थोरै लेखिएको छ । ‘चोमोलुङ्मा–एभरेस्ट–सगरमाथा’ नाम राखिनुअघि यसका अनेक नाम थिए भन्ने सम्बन्धमा पनि प्रस्ट पारिएको छ । त्यस्तै गरेर 

‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ को उचाइका सम्बन्धमा पनि त्यस्तै रहेको थियो र अन्त्यमा ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ आरोहण गर्न आएका पर्वतारोहीले तिर्ने रोयल्टी अर्थात् कमाइका सम्बन्धमा पनि थोरै लेखिएको छ । 

सगरमाथाको नामकरण

सुरुताका सगरमाथाको अनेक नाम अड्कल गरिएका थिए । जस्तै ‘देवढुङ्गो’, ‘भैरवनाथ’, ‘गौरीशङ्कर’, ‘चरी लमेनी’, ‘मितीगुती’, ‘चापोलुङ्मा’, ‘थर्ड–पोल’, ‘द गडेस मदर अफ दी अर्थ’, ‘मदर गडेस अफ दी स्काई’, ‘झोमोलुङ्मा’, ‘धरतीकी देवी’, 

‘चोमो काङ्कार’, ‘चोमो लुङ्मो’, ‘पिक एक्स भी, ‘१५ औँ चुली’, नौ वन्धन (‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ समेत) लगायत डेढ दर्जनभन्दा बढी नाम अड्कल गरिएका थिए तर पछि गौरीशङ्कर, मेलुङ्त्सेलगायत अन्य हिमाल अलग्गै हिमाल हुन् भन्ने पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशङ्कर’ होइन भन्ने पक्का भयो । स्मरणीय छ, सन् १८५६ मा बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङ्मा’ को नयाँ नाम ‘माउन्ट एभरेस्ट’ राखिएको थियो । त्यस बेला सर जर्ज एभरेस्ट भने आफ्नो सेवा अवधि सकेर बेलायतको इङ्ग्ल्यान्डमा ‘रिटायर लाइफ’ बिताइरहनुभएको थियो । उहाँले सन् १८२३–१८४३ सम्म भारतको नापनक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गर्नुभएको थियो । त्यस्तै इतिहासशिरोमणि बाबुराम आचार्यले २०१० सालमै ‘शारदा’ नामक पत्रिकामा एक लेख लेखेर सगरमाथा नाम दिनुभएको वा नेपाली भाषामा नयाँ नाम राखिनु पर्छ भनेर प्रस्ताव गर्नुभएको थियो । (नोट ः माथिका विभिन्न नाममध्ये केही नाम ‘टु द थर्ड पोल’ नामक किताब ।)

सगरमाथाको उचाइ 

सगरमाथाको उचाइका सम्बन्धमा पनि सुरु सुरुमा एकरूपता थिएन । जस्तै– ८,८८८ मिटर, ८,८४० मिटर, ८,८५० मिटर, कहिले ८,८७२ मिटर, ८,८४४.४३ मिटर, ८,८४८ मिटर आदि भनी प्रचारमा ल्याइने गरिन्थ्यो । यस्तो काम बढी जसो युरोपेली पर्वतारोही तथा खोजकर्ता र उत्तर अमेरिकी महादेशका पर्वतारोही र लेखकले गर्ने गरेका थिए । तापनि नेपाल सरकारले आधिकारिक मान्दै आएको उचाइ ८,८४८ मिटर थियो; जुन उचाइ सन् १९५४ मा सर्भे अफ इन्डियाले गरेको नाँपजाँचका आधारमा निकालिएको थियो । चीनको स्वशासित क्षेत्र तिब्बततर्पmबाट ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ आरोहण गर्ने पर्वतारोहीलाई चीन सरकारले प्रमाणपत्र दिँदा (सन् २०१९–२० सम्म) सम्म ८,८४४ मिटरको प्रमाणपत्र दिने गरेको थियो । जे भए पनि अहिले नेपाल र चीन दुवै देशको ‘भद्र सहमति’ मा ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ को नयाँ उचाइ ८८४८.८६ मिटर कायम भई मान्यता पाइसकेको छ । आगामी दिनमा चीनको स्वशासित क्षेत्र तिब्बततर्पmबाट र नेपालतर्पmबाट ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ आरोहण गर्ने पर्वतारोहीलाई दिइने आरोहण प्रमाणपत्रमा ८,८४८.८६ मिटर नै कायम हुने छ भन्ने आशा गर्न सकिन्छ । हुन पनि ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ उचाइ सर्वप्रथम सन् १८५२ मा ८,८४० मिटर मानिएको थियो । पछि आएर त व्यक्ति (पर्वतारोही तथा लेखकहरू) र दशैपिच्छे ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ को उचाइ फरक फरक मान्न थालियो । जस्तो ‘वेस्टर म्यान’ भन्ने नक्सामा त ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ को उचाइ ८,८७२ मिटर लेखिएको छ । त्यस्तै गरेर पे्रmन्च जोडीले लेखेको एक किताबमा चाहिँ ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ को उचाइ ८,८४२ मिटर मात्रै लेखिएको छ । 

आरोहणको इतिहास

हो, ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ आरोहण गर्न मानवले प्रयास गरेको मिति चाहिँ सन् १९२१ मा हो । त्यसलाई आधार मान्दा लगभग ३४ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ को शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । स्मरणीय छ, उक्त वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्ड (तत्कालीन बेलायतको मातहत रहेको देश) का एडमन्ड पर्सिभल हिलारीले प्रथम पटक मानवका रूपमा ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ को शिरमा पाइला राख्नुभएको थियो । हुन पनि त्यसअघि सन् १९५१ मा बेलायती पर्वतारोहीको सानो टोली दार्जिलिङ, सन्दकफु÷सन्दकपुर (इलाम), ताप्लेजुङ, चैनपुर, दिङ्ला (भोजपुर) तेङ्बोचे हँुदै नेपालका तर्पmबाट सगरमाथा चढ्न जानुभएको थियो तर उहाँहरूले सफलता पाउनुभएन । उहाँहरू बर्सातअघि ८,५९५ मिटरसम्म र बर्सातपछिको प्रयासमा आठ हजार १६ मिटरको उचाइसम्म पुग्न सफल हुनुभएको थियो । 

सम्भवतः त्यस बेलासम्म ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ आरोहण गर्ने पर्वतारोहीको इतिहासमा त्यो उचाइसम्म पुग्ने पहिलो टोली नै त्यही स्विस पर्वतारोही टोली थियो । खासमा ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ हिमाल हालसम्म पत्ता लागेको विश्वको एकमात्र ‘आइकोनिक’ अर्थात् अग्लो हिमाल हो । त्यसैले गर्दा हालसम्म यो हिमाल आरोहण गर्नका लागि अनुमानित १९/२० हजारदेखि २१/२२ हजार पर्वतारोहीले प्रयास गरे होलान् । 

आरोहणबाट हुने आम्दानी  

‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ आरोहणबाट नेपाल सरकारले रोयल्टी अर्थात् सलामीबापत मात्रै बर्सेनि ५० करोड रुपियाँभन्दा बढी आम्दानी गरिरहेको छ । सन् २०२१ को वसन्त ऋतुमा मात्रै ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ आरोहण गर्ने पर्वतारोहीबाट नेपाल सरकारले रोयल्टीबापत ६६ करोड १३ लाख नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । त्यस्तै सन् २०२२ को वसन्त ऋतुमा ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ आरोहण गर्न आएका विभिन्न देशका ४४ वटा पर्वतारोहण दलका ३२३ जना स्वदेशी तथा विदेशी पर्वतारोहीले सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएका थिए । सो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न आएका विभिन्न देशका पर्वतारोहीबाट ६५ करोड ५९ लाख २२ हजार बराबरको विदेशी मुद्रा कमाइ भएको थियो । त्यस्तै गरेर सन् २०२३ मा आरोहण गर्न विभिन्न देशका ४३ वटा आरोहण दलका ४६६ जना पर्वतारोहीले अनुमति लिएका थिए । ती पर्वतारोहीबाट नेपाल सरकारले ६६ करोड ६४ लाख २१ हजार नेपाली रुपियाँ बराबारको विदेशी मुद्रा रोयल्टीबापत मात्रै कमाइ गरेको थियो । त्यस्तै सन् २०२४ को वसन्त ऋतुमा ५५ करोड ८५ लाख ४४ हजार बराबरको विदेशी रकम कमाइ भएको थियो । 

यसरी हेर्दा नेपालमा हाल जति पनि हिमाल आरोहणबाट हुने आर्थिक छ, त्यसको लगभग ९० प्रतिशत सगरमाथा आरोहणको एक्लै योगदान रहेको देखिन्छ । त्यसैले हिमालको वातावरणीय, आर्थिक, राजनीतिक र दिगोपनाको महत्व पनि निकै बढेर गएको देखिन्छ । 

 

Author

निनाम लोवात्ती