• १६ भदौ २०८१, आइतबार

प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुहुँदै राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, जेठ २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा गर्नुभएको छ ।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी बिहीबार महासचिव गुटेरेसको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गर्नुभएकोमा आभार व्यक्त गर्नुभयो । उहाँले राष्ट्रसङ्घले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको पनि बताउनुभयो ।


राष्ट्रसङ्घका आवासीय प्रतिनिधि सिङ्गरले संयुक्त राष्ट्रसङ्घको विश्वशान्ति अभियानमा नेपालले महत्त्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय जलवायु परिवर्तनमा नेपालले निर्वाह गरेको भूमिकाका लागि पनि नेपालले समिटमा भाग दिनुपर्ने बताउनुभयो ।

जलवायु परिवर्तन लगायतका समकालीन चुनौतीका साथै दिगो विकास लक्ष्य प्राप्ति लगायतका विषयमा छलफल गर्नका लागि संयुक्त राष्ट्रसङ्घको आयोजनामा आगामी सेप्टेम्बर २२ र २३ मा न्युयोर्कमा ‘समिट अफ द फ्युचर’ हुन लागेको हो ।