अमरराज नहर्की
तनहुँ, जेठ २२ गते । तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर २९ वर्षीय प्रवीण कैनीको दुर्घटनामा मृत्यु नभई हत्या गरिएको भन्दै व्यास नगरपालिकाका कर्मचारी र स्थानीयले पृथ्वीराजमार्ग बन्द गरेका छन् । घटनास्थल व्यास नगरपालिका–१ मुसेखोलामा स्थानीय जम्मा भएका मङ्गलबार दिउँसो २ बजेदेखि पृथ्वीराजमार्ग बन्द गरेका हुन् ।
आन्दोलनकारीले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग राखेका छन् । दोषीलाई र घटनाको ढाकछोप गर्न प्रमाण लुकाउन घटनास्थल माटो थुपार्न लगाउनेलाई कारबाही र क्षतिपूर्तिको सुनिश्चित हुनुपर्ने माग पीडितको छ ।
घटनाको छानबिन र अनुसन्धान गरी छानबिनको नतिजा अनुसार प्रचलित कानुन बमोजिम दोषीलाई हदैसम्मको सजाय र मृतकका आफन्तहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्ने सहमति भएपछि अवरुद्ध राजमार्ग सुचारु गरिएको भए पनि सोमबार रातीबाट यातायात सुचारु गरिएपनि माग पूरा नभएको मङ्गलबार दिउँसोबाट पुनः यातायात बन्द गरिएको इन्जिनियर कैनीका नातेदार अमित कैनीले बताउनुभयो ।
व्यास नगरपालिका–१२ कमलबारी निवासी इन्जिनियर कैनीलाई चालकले ब्याग गरेर मारेको भन्दै स्थानीय तथा व्यास नगरपालिकाका कर्मचारी आन्दोलित भएका थिए । डुम्रेबाट दमौली जाँदै गरेको बा.प्र.०१ –००१ नम्बरको पानी ट्याङ्कर र सोही दिशा तर्फ आउँदै गरेको ग१९प ८३०३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो २ बजे ठक्कर दिँदा इन्जिनिय कैनीको मृत्यु भएको थियो । ठक्करबाट इन्जिनियर कैनीको टाउकोमा गम्भीर चोट लागेको थियो भने जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा कैनीलाई चिकित्सकले मृत घोषित गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले राजमार्ग अवरोध नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले घटनामा संलग्न ट्याङ्कर र ट्याङ्कर चालक समेतलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाएकाले आन्दोलन नगर्न आग्रह गरिएको बताउनुभयो ।