• १२ साउन २०८१, शनिबार

सडक कालोपत्रले फेरिएका बागलुङका ग्रामीण वस्ती (फोटो फिचर)

blog

सडक कालोपत्रले सुन्दर देखिएको ग्रामीण वस्ती । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
बागलुङ, जेठ १२ गते ।
बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर १ माझखर्ककी ७५ वर्षीय गंगा रोका घर आँगनको सडक कालोपत्र भएर चिटिक्क बनेपछि खुसी हुनुहुन्छ । वर्षौ अघि निर्माण भएको सडक यतिखेर कालोपत्र भएर चिल्लो बनेपछि उहाँमा खुसीको सिमा छैन ।

२० वर्ष पहिला यो सडक स्थानीयहरुले कुटो, गैची र कोदालोले खनेर सडकको ट्रयाक खोलेका थिए । सङ्घीयता कार्यान्वयनसँगै उक्त सडक कालोपत्र भएपछि स्थानीयहरु उत्साहित भएको माझखर्कका स्थानीयवासी खर्कबहादुर घर्तीमगरले बताउनुभयो ।  


उहाँका अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत काठेखोला खण्डको रिजाल चोकदेखि ताराखोला गाउँपालिका वडा नम्बर १ माझखर्कको विसाउना डाडाँसम्म १० किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र भएको छ ।

सडक कालोपत्र भएसँगै गाउँको मुहार फेरिएको छ उहाँले भन्नुभयो, ‘‘यतिका वर्ष कालोपत्र नभएको सडक यसपाली कालोपत्र भएको छ । सडक कालोपत्र भएसँगै धुलो र हिलोबाट मुक्ति पाएका छौं । कालोपत्र सडकमा यात्रा गर्न सहज भएपछि गाउँलेहरु खुसी भएका छन् ।’’

करिब १५ देखि २५ वर्ष अघि ट्रयाक खोलेका बागलुङका ५ वटा ग्रामीण सडकहरु स्तरोन्नतिसहित कालोपत्र गर्न गण्डकी प्रदेश सरकारले चार वर्ष अघि बहुवर्षीय ठेक्का लगाएर सडक निर्माण थालेको थियो ।


योजना अनुसार ढोरपाटन नगरपालिकाको बुर्तिबाङदेखि ढोरपाटन हुँदै म्याग्दी जोड्ने सडकअन्तर्गत ढोरपाटन नगरपालिका ६ दुवाडी खोलादेखि भाल्नेखोलासम्म १० किलोमिटर सडक कालोपत्र  गरिएको छ । यो योजना अहिले अन्तिमचरणमा पुगेको छ । सडक कालोपत्र भएसँगै ग्रामीण विकट वस्तीहरुको मुहार फेरिएको ढोरपाटन नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष उमेश कुमार बुढामगरले बताउनुभयो ।

घरआँगनको सडक कालोपत्र भएसँगै यात्रा सहज भएको गाडीखोलाका स्थानीय शिव थापाले बताउनुभयो ।

सडक कालोपत्र भएसँगै धुलो र हिलोका कारण जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयवासी शिखर पुनले बताउनुभयो । सडक कालोपत्र भएसँगै दुवाडी, पानीपोखरा, ओख्रेनी, कुलुङ, गाडीखोला, मराङ, छालहाल्ना, चामीद्धार र खानी गाउँका स्थानीयहरु लाभान्वित भएका छन् । यो सडक हुँदै ढोरपाटन जान छोटो दूरी भएकाले सडक निर्माणलाई पूर्णता दिन सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।


यसैगरी, गलकोट नगरपालिकादेखि ताराखोला गाउँपालिका हुँदै म्याग्दी जोड्ने सडकअन्तर्गत गलकोट नगरपालिका वडा नम्बर ५ र ६ मा करिब तीन किलोमिटर सडक कालोपत्र गरिएको छ । दश किलोमिटर सडक कालोपत्र गर्ने योजना अनुसार चालु आर्थिक वर्षमा ६ किलोमिटर सम्म कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ ।

यस्तै, जैमनी–बरेङ सडक योजनाको दोस्रो खण्डअन्र्तगत जैमनी नगरपालिका १० को देवलडाडाँदेखि बरेङ गाउँपालिका वडा नम्बर १ को नुनथलासम्मको ११ किलोमिटर दूरीको सडक कालोपत्र गरिएको छ । योजनाअन्तर्गत ४ किलोमिटर ८ सय मिटर ढलान र ६ किलोमिटर दुई सय मिटर प्रिमिक्स प्रविधिको कालोपत्र गरिएको छ ।

ट्रयाक खुलेको करिब २५ वर्षपछि उक्त सडक कालोपत्र भएसँगै स्थानीयहरु खुसी भएको बरेङ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नरसेङ पुनले बताउनुभयो । यसैगरी,  बागलुङ नगरपालिका ४ कुडुले फेदीदेखि पञ्चकोट हुँदै काठेखोला जोड्ने १४ किलोमिटर सडक कालोपत्र गरिएको छ ।


चार वर्ष अघि निर्माण थालिएका उक्त सडकहरु चालु आर्थिक वर्षमा कालोपत्र गर्ने काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख दिनेश घिमिरेले जानकारी दिनुभयो ।  जिल्लाभर चालु आर्थिक वर्षमा करिब ४५ किलोमिटर सडक कालोपत्र भएको उहाँले बताउनुभयो । कालोपत्र सडकका कारण ग्रामीण वस्तीहरुमा बसोबास गर्ने सर्वसाधरणहरुको जीवनशैलीमा उल्लेख्य मात्रामा परिर्वतन आएको उहाँले बताउनुभयो ।