• १२ साउन २०८१, शनिबार

पाल्पामा घाटु नाचको रौनक (फोटो फिचर)

blog

पाल्पाका बस्तीहरुमा घाटु नाचको रौनक । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), जेठ १२ गते ।
मगर समुदायको बाहुल्यता रहेको पाल्पाका बस्तीहरुमा घाटु नाचको रौनक छाएको छ । कुनै समय जिल्लाको पूर्वी क्षेत्रका अधिकांश स्थानमा प्रदर्शन गरिने घाटु अहिले केही स्थानमा सिमित देखिएको छ ।

वैशाख पूर्णिमादेखि सुरु गरिने घाटु नाच निस्दी र पूर्वखोला गाउँपालिको केही स्थानमा नचाइएको छ । गत बिहीबारदेखि निस्दीको वडा नं. ३, ४, ५ र ७ का केही घाटु नाच जारी रहेको छ । सती घाटु वैशाख पूर्णिमाको दिनबाट विधिपूर्वक सुरु गरिने नाच यहाँ तीन दिनसम्म नचाइन्छ । कथा गीतमार्फत प्रस्तुत गरी घाटुसरीलाई नचाएर सेलाउने गरिन्छ । तीन प्रकारका घाटु प्रचलनमा रहे पनि यस क्षेत्रमा सती घाटु नाच्ने गर्दछन् ।

निस्दी–५, बेलौजीका गुरुबा हुम बहादुर सुनारीले यस क्षेत्रमा सती घाटु नाचाईदै आएको बताउनुभयो । राजाको निधन पश्चात् रानी सती जाने भएकाले सती घाटु भनिएको जानकारी दिनुभयो । घाटुको गीतमा परशुराम राजा र यम्पावती रानीको कथा रहेको र यही कथावस्तुलाई आधार बनाई नचाइन्छ । ‘‘राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जङ्गलको सिकार, पुत्रबढाइँ, लडाइँ र मृत्युसम्मको कथालाई गीत बाट प्रस्तुत गरी घाटु नचाइन्छ ।’’ सुनारीले भन्नुभयो । गीत संगै कथावस्तुको आधारमा पात्र अनुसार अभिनय पनि गरिन्छ । घाटुमा गुरुआमाले गीत सुरु गरेपछि अन्य सहभागी महिलाहरुले गाउने तथा घाटुसरी (कन्या, बालिका) ले नाच्ने गर्दछन् । 


घाटु गीत सुरुदेखि अन्त्यसम्म नबिराईकन गाउनुपर्ने भएकाले जो केहीले नेतृत्व गर्न नसक्दा हराउने हो कि भन्ने चुनौति देखिएको छ । बाङ्लाङ्का गुरुआमा देउकुमारी सुनारीले भन्नुभयो, ‘‘मैले आमा र दिदीहरु संगै गीतहरु सिके । अहिले सम्म प्रत्येक वर्ष चण्डी पूर्णिमामा नचाउँदै आएका छौं । हामी पछि त खै .... ।’’ गाउँको राम्रो होस्, कोही कसैलाई केही नहोस् भन्ने कामनासाथ घाटु नाचिने उहाँको भनाइ छ ।

केही वस्तीहरुमा परम्परादेखि चल्दै आएको घाटु नाच अहिले सम्म देखाईदै आएपनि धेरै गाउँबस्तीबाट लोप भइसकेको छ । घाटु नाचको तयारीका लागि ठूलो खर्च लाग्ने भए पनि संरक्षणका लागि अहिलेसम्म कहीँ कतै बाट सहयोग नपाएको गाबुडाँडाका गुरुआमा भवानीसरा सारु बताउनुहुन्छ । ‘‘तीन दिन सम्म नचाईने भए पनि तयारी पहिलेदेखि नै गर्नुपर्छ । डेरा निर्माण र सजावत, कन्यालाई पोशाकसहित सिगार्न धेरै खर्च हुने भएपनि अहिले सम्म गाउँले मिलेर जोहो गर्दै आएका छौं ।’’


कतिपय स्थानमा सांस्कृति संरक्षण समिति गठन गरी परम्परागत संस्कृति जोगाउने प्रयास स्थानीयले गरिरहेका छन् । बेलौजीका युवा तिलक सारुले अन्य निकायबाट कुनै सहयोग नभए पनि गाउँमा रहेका संस्कृति जोगाउन समिति नै बनाएर पहल थालेको जानकारी दिनुभयो । जिल्लामा बिहीबारदेखि सुरु भएको घाटु नाच शनिबार साँझ विधिवत् रुपमा सेलाइदै छ ।

विगतमा निस्दी–५ को छ स्थानमा घाटु नचाइने गरे पनि अहिले बेलौजी, बाङ्लाङ्, गाबुडाँडा र खरकडाँडामा मात्र नाच्ने गरिएको छ । निस्दीको वडा नं. ३ को दुनीडाँडा, वडा नं. ४ को भोर्मा, खोप्लाक, मौलाथर, भिरपानी, वडा नं. ७ को ज्यामिरेमा पनि यस वर्ष घाटु नचाइएको छ । पूर्वखोला गाउँपालिकाको जल्पा, देविनगर, विरकोट लगायतका स्थानमा घाटु नचाइन्छ ।