• ३ असार २०८१, सोमबार

औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरु

blog

धनकुटा समाचारदाता

धनकुटा, जेठ ११ गते । प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवं खाना महोत्सव–२०८१ धनकुटामा उद्घाटन गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा मेला आयोजना गरेको हो । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मेला उद्घाटनका अवसरमा बोल्दै प्रदेश सरकारले २०८३ सालभित्र धनकुटामा एक सय शøयाको अस्पताल बनाउने बताउनुभयो । उहाँले भन्नुभयो “अस्पताल बनेपछि धनकुटाका छिमेकी जिल्लाका बासिन्दाले पनि सहज तरिकाले उपचार गराउन पाउने छन् ।” कोशी प्रदेशको पहाडी क्षेत्रको पर्यटकीय प्रवर्धन गर्न आर्थिक वर्ष २०८०/८१ भित्रै प्रशासनिक कार्यालय स्थापना गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । 

उहाँले औद्योगिक ग्राममा थप विकास गर्न, संरचना थपी मजदुर आवास, कर्मचारी आवास लगायतका भौतिक पूर्वाधारमा जोड दिइने बताउनुभयो । उहाँले विदेशबाट आयात हुने फूललाई रोक लगाई धनकुटामै उत्पादन गर्न, सौन्दर्यका सामग्री, मेडिकललगायतका सामान उत्पादन गर्न धनकुटा नगरपालिकालगायत अन्य पालिकालाई पनि कोशी प्रदेश सरकारले रकम छुट्याउने उहाँले बताउनुभयो ।

मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र बिव्रmीका साथै मनोरञ्जनात्मक प्रस्तुति रहने छन् । मेलामा घरेलु उत्पादन, स्थानीय खानाका परिकार र स्थानीय आठपहरिया जातिको खानाका परिकार गरी जम्मा ३० वटा स्टल रहनुका साथै मेलाको २० हजार आन्तरिक पर्यटकले अवलोकन गर्ने र करिब दुई करोड रुपियाँ बराबरको कारोबार हुने अपेक्षा रहेको आयोजकले जनाएको छ । 

धनकुटाको औद्योगिक ग्रामलाई प्रवर्धन गर्दै आर्थिक गतिविधि बढाउने उद्देश्यले मेला आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख ईश्वर थापाले बताउनुभयो ।