काठमाडौँ, जेठ १ गते । इभाना थापा, स्यान्टु श्रेष्ठ र संयोग कपालीले पेरिस ओलम्पिकका लागि टेबलटेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउनुभएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा मङ्गलबार भएको खेलमा तीनै जना खेलाडीले एकल स्पर्धामा जित निकाल्दै सेसिमफाइनलमा स्थान बनाउनुभएको हो ।
पेरिस ओलम्पिकका लागि छनोट हुने आशा गरिएकी नबिता श्रेष्ठ क्वार्टरफाइनलबाट बाहिरिनु भएको छ । महिला एकलतर्फको क्वार्टरफाइनलमा नबिता श्रीलङ्काकी इशारा मुदुरांगसँग ४–३ ले पराजित हुनुभयो ।
नेपालमा पहिलो पटक ओलम्पिक छनोट प्रतियोगिता भएको हो । जेठ २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काको सहभागिता रहेको छ ।
भारत माथिल्लो स्तरमा रहेकोले सहभागी छैन । यस प्रतियोगिताबाट पुरुष र महिलामा एक एक खेलाडी ओलम्पिकमा छनोट हुनेछन् ।