• ४ पुस २०८१, बिहिबार

१३ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो बागमती प्रदेश युवा सम्मेलन सम्पन्न

blog

सम्मेलनमा सहभागी ।

हेटौँडा, वैशाख ३० गते। ‘सृजनशीलता र उद्यमशीलता प्रवर्द्धन : बागमतीमा युवा सशक्तीकरण’ भन्ने नारासहित वैशाख २८ गतेदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको बागमती प्रदेश युवा सम्मेलन २०८१ सम्पन्न भएको छ। 

तीन दिनसम्म चलेको सम्मेलनले १३ बुँदे घोषणापत्र जारी गरेको छ। उक्त सम्मेलनमा सन् २०३० सम्ममा पुरा गर्ने लक्ष्य लिइएको दिगो विकासका लक्ष्यको कार्यान्वयन, आर्थिक, सामाजिक, वातावरणीय पक्षको सहनयोग्य, सम्भाव्य र दिगो विकाशका लक्ष्यहरूको स्थानीय करण र कार्यान्वयन गर्नुपर्ने दायित्व अन्तर्गत बागमती प्रदेश युवा परिषद्ले दिगो विकासका लक्ष्यहरूको स्थानीय करण र प्रभावकारी कार्यान्वयनमा खेलिरहेको महत्त्वपूर्ण भूमिका लगायत विविध पक्षमा छलफल गरिएको थियो।

नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक, धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हकका साथै प्रत्येक नागरिकले रोजगारीको छनौट गर्न पाउने हकको कार्यान्वयन गर्ने गराउने महत्त्वपूर्ण दायित्व रहेको भन्दै बागमती प्रदेशमा सबल, सक्षम र सशक्त सिपयुक्त युवाहरू तयार गर्ने सोचसहितको अभियानलाई प्रभावकारी कार्यान्वयन गर्ने स्पष्ट लक्ष्य तथा कार्य योजना तय गरिएको सम्मेलनले जारी गरेको घोषणापत्रमा उल्लेख गरिएको छ। 

युवामा लगानीले नै देशको समग्र विकाश सम्भव रहने भन्दै नेपालले युवा जनसाङ्ख्यिक लाभबाट फाइदा लिन युवामा लगानी अभिवृद्धि गर्दै देशको समृद्धि र विकासको सुनौलो युगमा प्रवेश गर्ने लक्ष्यप्रति थप प्रतिबद्ध रहने उल्लेख गरेको छ।  

सम्मेलनले युवामैत्री नीति निर्माण, विद्यमान नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन र युवा लक्षित यथेष्ट स्रोत साधन र लगानीका लागि सामूहिक आवाजलाई थप बुलन्द गर्ने उल्लेख गरेको छ। 

त्यस्तै युवालाई सक्षम, जिम्मेवार, ज्ञान र सीपयुक्त बनाउन बागमती प्रदेशका साथै सिङ्गो देशको समग्र विकासको नेतृत्वमा युवालाई स्थापित गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ सम्मेलन सम्पन्न गरिएको छ। 

त्यसैगरी सम्मेलनले बागमती प्रदेश युवा परिषद् ऐन २०७६, प्रदेश युवा परिषद् नियमावली २०७७, बागमती प्रदेश युवा नीति २०७९ को प्रभावकारी कार्यान्वयन गर्दै बागमतीका युवाको चाहना र आवश्यकताको सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ। 

संघीय तथा प्रदेश सरकारका आवधिक योजनाहरू, युवासँग सम्बन्धित नीतिगत व्यवस्थाहरूको कार्यान्वयनमा बागमती प्रदेश युवा परिषद्ले बागमती प्रदेशमा नेतृत्वदायी उपस्थितिसहित महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गरेको छ। 

आवश्यक स्रोत तथा साधनको सुनिश्चितता तवर हुनुपर्ने र बागमती प्रदेश युवा परिषद्लाई थप स्रोत साधन सम्पन्न बनाउँदै बागमती प्रदेशका युवाहरूका साझा सवालहरूको सम्बोधनका लागि परिषद्को नेतृत्वदायी भूमिकालाई थप प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरिएको छ। 

युवामा रोजगारी, स्वरोजगारी र उद्यमशीलता प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारले गरेको सीप विकास वर्ष २०८१ घोषणाको निर्णयलाई बागमती प्रदेश युवा परिषद्को नेतृत्वमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्दछ। 

बागमती प्रदेशका सबै स्थानीय तहहरूको योजना, नीति, कार्यक्रम र बजेट निर्माण तथा कार्यान्वयनमा युवाहरूको अर्थपूर्ण र प्रभावकारी सहभागितामार्फत युवामैत्री स्थानीय तहहरूको प्रवर्द्धन गर्नुपर्ने भन्दै स्थानीय तहको सहभागितात्मक योजना निर्माण र कार्यान्वयनमा युवाहरूको सृजनशील सहभागिता प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरिएको छ। 

विभिन्न तहका नीतिगत निर्णय र सोको प्रभावकारी कार्यान्वयनमा युवाहरूको राजनीतिक तथा सामाजिक निर्णायक उपस्थिति प्रवर्द्धन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ। 

युवाहरूको साझा सवालहरूको सम्बोधनका लागि युवाहरूमा लगानी प्रवर्द्धन गरिनुपर्ने भन्दै युवाका सवालमा बागमती प्रदेशसँग सम्बन्धित विशेष अध्ययन, अनुसन्धान तथा तथ्याङ्क अद्यावधिक तथा सार्वजनिक सेवाहरूमा डिजिटल गभर्नेन्सको अभ्यासमार्फत युवाहरूको पहुँच विकाश गर्नुपर्ने उल्लेख छ। 


घोषणापत्र मुख्यमन्त्री शालिकराम जम्कट्टेल र समाजिक विकास मन्त्री कुमारी मोक्तानलाई परिसद कार्यकारी उपाध्यक्ष सन्तोस चौलागाईले बुझाउनु भएको थियो।