• २१ असार २०८२, शनिबार

नगरप्रमुखद्वारा निर्माणाधीन कोसेली घरलगायतका पूर्वाधारको अनुगमन

blog

हेटौँडा उपमहानगरपालिका १० मा निर्माणाधीन योजनाको अनुगमन गर्दै नगरप्रमुख मिनाकुमारी लामा । तस्बिर:राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, वैशाख ३० गते । 
हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मिनाकुमारी लामाले हेटौँडा १० मा चालु आर्थिक वर्षमा निर्माणाधीन भौतिक पूर्वाधारको कामको अनुगमन गर्नुभएको छ ।

१० नम्बर वडा कार्यालयसँगै महिला उद्यमीद्वारा उत्पादित सामग्रीहरू बिक्रीका लागि निर्माणाधीन कोशेली घर, राप्तिरोडबाट बसपार्कतर्फ जाने सडक र बाइपास सडकको अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।

बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको ४५ लाख रुपियाँ लगानीमा निर्माणाधीन कोशेली घर निर्माणलाई सम्झौता अनुसार गुणस्तरीय रूपमा काम गर्न निरीक्षणका क्रममा नगरप्रमुख लामाले निर्देशन दिनुभयो ।

त्यस्तै, राप्तीरोडबाट बसपार्कतर्फ जाने ४९ लाख रुपियाँको लागतमा निर्माणाधीन सडकको काम र नौ लाख रुपियाँको लागतमा मर्मत भइरहेको बाइपास सडकको नगरप्रमुख लामाले अनुगमन गर्नुभयो ।

अनुगमनका क्रममा वडा नं. १० वडाध्यक्ष फुर्वादोर्जे तामाङ, वडा सचिव राम तिमल्सिनालगायतका सहभागिता रहेको थियो ।