• १२ साउन २०८१, शनिबार

स्पा सञ्चालकसहित छ जना पक्राउ

blog

अविनाश चौधरी

धनगढी, ३० वैशाख । अनैतिक क्रियाकलाप गरेको आरोपमा कैलाली प्रहरीले स्पा सञ्चालकसहित छ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४ चौराहास्थित सुदूरपश्चिम स्पा सेन्टरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्पा सेन्टरमा अनैतिक क्रियाकलाप भइरहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले आपत्ति जनक अवस्थाबाट एक पुरुषसहित शङ्कास्पद गतिविधिमा संलग्न चार जना महिलालाई पक्राउ गरेको छ । यसै गरी, स्पा सञ्चालकलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन । 

यस्तै, प्रहरीको रेकी गरी भारतबाट अवैध सामान ओसारपसारमा सहयोग गर्ने धनगढी उपमहानरपालिका–७ मनेहराका बुद्धिराम चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले भारतबाट सामान तस्करी गर्ने तस्करलाई सहयोग गर्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी टोलीको गोप्य निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधिको बारेमा उनले नेपाली र भारतीय तस्करलाई सूचना दिने गरेको प्रहरीको आरोप छ । त्यसरी सूचना दिएबापत उनले प्रति सूचना ५०० रुपियाँ लिने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई पक्राउ गरेर राष्ट्र सेवकको कामकाजमा बाधा गरेको कसुरमा थप अनुसन्धान गरिरहेको प्रवक्ता बोहराले जानकारी दिनुभयो ।