• ११ मंसिर २०८१, मङ्गलबार

दोलखाले सम्झिनैपर्ने शैक्षिक व्यक्तित्व

blog

जहानियाँ राणा शासनको बेला शिक्षाको उज्यालोबाट वञ्चित जनताका छोराछोरी सबै गोठाला मात्र भए भन्ने चिन्ताले मध्य पहाडी जिल्ला दोलखामा नन्दप्रसाद शिवाकोटीको नेतृत्वमा अगुवाहरू विद्यालय खोल्न जुटे । दोलखाको उत्तरी भेग क्षमावतीमा गुरुकुल शैलीमा २००५ सालमा विद्यालय सुरु भएको थियो । माध्यमिक विद्यालयको पहिलो स्वीकृति क्षमावती माध्यमिक विद्यालयले नै पाएको थियो । यो नै हिरक जयन्ती मनाउने दोलखाको पहिलो विद्यालय हो । जनतामा चेतना जागृत गर्न शैक्षिक वातावरणको आवश्यकता बोध गरी शिवाकोटी अगाडि सर्नुभएको थियो । विद्यालय निर्माणमा नन्दप्रसादको नेतृत्वमा पूरै गाउँ जुटेको थियो । शैक्षिक जागरणमा उहाँले दोलखा जिल्लामै नेतृत्व गर्नुभएको त्यस गाउँको जिम्मुवाल रहेका मेरा पिताजीसहितका अग्रजहरू बताउनुहुन्थ्यो । 

विद्यालय स्थापना गर्न खोज्नुको पछाडि स्वार्थ केही थिएन । जनताका छोराछोरी गोठाला मात्र नहून्, दुनियाँ देखून् र बुझून् भन्ने चाहना थियो । पढाइका लागि अरू गाउँका विद्यार्थीलाई पनि आफैँ बस्ने र खाने ठाउँको व्यवस्था गरिएको थियो । कतिपयले खस्रुको फेदमा पनि विद्यालय हुन सक्छ भनेर हेप्थे । थर्पुको चौर विद्यार्थीले खारे, ढुङ्गा बोके, गाउँलेले समेत श्रमदान गरेर विद्यालय निर्माणमा सहयोग गरे । विद्यार्थीले विद्यालय निर्माणका लागि काठ, फल्याक पनि बोके । विद्यार्थी, अभिभावक सबैलाई शैक्षिक अभियानमा जोड्ने काम उहाँले नै गर्नुभयो । जीवनको अन्तिम समयसम्म पनि नन्दप्रसाद शिक्षा क्षेत्रको उन्नयनमा लागिरहनुभयो । काठमाडौँ आएर अङ्ग्रेजी पढाउन पण्डित हरिप्रसाद थपलियालाई लैजानुभयो । गणेशबहादुलाई दार्जिलिङबाट ल्याउनुभयो । बिहानदेखि बेलुकासम्म विद्यालयकै चिन्तामा बिताउनुहुन्थ्यो । काभ्रेबाट लगिएका सहदेव थापाले अङ्ग्रेजी, विज्ञान र गणित पढाउनुहुन्थ्यो । 

विद्यालय स्थापना गर्न अग्रसर नन्दप्रसादको दूरदर्शिताले शैक्षिक जागरण आयो । क्षमावती विद्यालय संस्थापकको रूपमा उहाँले जति योगदान समाजका लागि गर्नुभयो तर तदनुरूप उहाँलाई सम्झिने काम भने त्यसको एकछेउ पनि भएको छैन । विद्यालय स्थापनामा अधिवक्ता नन्दीकेशर शिवाकोटीले काठमाडौँको प्रशासनिक काममा नन्दप्रसादलाई सहयोग गर्नुभयो । उहाँको पनि उचित सम्मान हुन सकेको छैन । त्यतिबेला काठमाडौँमा आएर शिक्षक खोज्नु पर्ने बाध्यता थियो । काठमाडौँ पुग्न ५/६ दिन हिँड्नुपर्ने । शिक्षक जान नमान्ने, कर गरेर मनाउनुपर्ने । उनीहरूको तलब मात्र होइन, परिवारको समेत खाने बस्ने व्यवस्था गर्नुपथ्र्यो । ती सबै कुरालाई सामना गर्दै नन्दप्रसाद विद्यालय खोल्ने र त्यसलाई दिगो बनाउन अहोरात्र खट्नुभयो । शैक्षिक जागरणमा नन्दप्रसाद जिल्लाकै मियो हुनुहुन्थ्यो । 

कतिपय स्थानीय कारणले क्षमावतीबाट सहदेव थापा बाहिरिएपछि नन्दप्रसाद भट्टेली/सुनखानीमा विद्यालय खोल्ने काममा लाग्नुभयो । रकम पनि दिनुभयो । जताजता नन्दप्रसाद र सहदेव हामी पनि त्यतै गयौँ । म, लालकुमार केसीलगायत साथी पनि गयौँ । क्षमावतीमा माध्यमिक विद्यालय बन्दैन भनेपछि म काठमाडौँ आएर पढ्न थालेँ । नन्दप्रसादले विद्यालय छाडेपछि पढाइ राम्रो हुँदैन भन्ने परेको थियो सबैमा । रामचन्द्र पौडेल, मेघनाथ लम्साललगायतका शिक्षक खोजेर ल्याएपछि काठमाडौँमा आएर पढ्न थालेका विद्यार्थीलाई उतै फर्काइयो । डाँडाबारीको बालकृष्ण शिवाकोटी विद्यार्थी बोलाउन काठमाडौँ आउनुभएको थियो । गोपाल, कृष्ण, घनश्याम ओलीलगायत हामीहरू क्षमावती नै फर्कियौँ । 

मेघनाथ त्यहाँ आएपछि सामाजिक क्षेत्रमा जागरण ल्याइदिनुभयो । हरेक कुरामा नन्दप्रसाद र मेघनाथबिच विमर्श हुन्थ्यो । विद्यालय नभएको भए गरिब निमुखाले पढ्न पाउने थिएनन् । सबै गोठाला मात्र भए, जुवातास खेलेर बिग्रिए भन्ने चिन्ता थियो । परिवारसहितका शिक्षक आउने, ऋण गरेर भए पनि शिक्षकलाई तलब दिनुपर्ने बाध्यता थियो । मेरा बुबाले स्कुल बनाउँदा पाँच मुरी मकै, छ मुरी कोदो र चार मुरी धान दिनुभएको थियो । विद्यालयको मुख्य अभियन्ता नै भएपछि नन्दप्रसादले त खेतबारी नै बेचेर विद्यालयको खर्च धान्नु परेको थियो । अहिले पनि दोलखाको शिक्षा व्यवस्थित हुन सकेको छैन । चेताना त्यतिबेलै आएको भए पनि त्यस अनुसार अहिले पनि शैक्षिक जागरण छैन । उहाँबाट सिक्ने काम भएन । 

राजा महेन्द्रले २०१७ पुसदेखि निर्दलीय पञ्चायती व्यवस्था सुरु गरे । पञ्चायतले प्रतिबन्धित गरेको कांग्रेसमा क्रियाशील भए पनि कसरी शैक्षिक जागरण कायम राख्ने भन्ने विषयमा उहाँ र प्रधानाध्यापक मेघनाथ सरबिच लामो छलफल हुन्थ्यो । दोलखामा कम्युनिस्ट आन्दोलनको जग राख्ने श्रेय लम्साललाई नै जान्छ । दुर्गम ठाउँमा माध्यमिक तहको विद्यालय सुरु भएपछि उनलाई तत्कालीन नेकपाले अध्यापनसँगै कम्युनिस्ट सङ्गठन गर्न खटाएको थियो । २०२१ साल चैतमा क्षमावती पुग्नुभएका लम्सालले २०२२ सालदेखि २०२४ सालसम्म पढाउनुभएको थियो । आइएस्सी गरेका सिरहाका लम्साललाई ओखलढुङ्गे कृष्ण शिवाकोटीले शिवप्रसाद शिवाकोटीको साथ लगाएर क्षमावती पठाउनुभएको थियो । 

२०१५ सालको चुनावमा हरिप्रसाद शिवाकोटी प्रजा–परिषद्बाट चुनाव लड्नुभएको थियो । नन्दप्रसाद त्यो चुनावमा लड्नुभएन । म आफैँ क्षमावती माध्यमिक विद्यालयमा पढाउन थालेपछि भने उहाँ दोलखा कांग्रेसको सभापति भनेर थाहा पाएँ । बिपी कोइरालाको नेतृत्वमा सरकार बनेकै २०१५ सालमा साविक पूर्व २ नम्बर अर्थात् हालको दोलखा कांग्रेसको सभापति भएर नन्दप्रसाद शिवाकोटीले नेतृत्व सम्हाल्नुभएको थियो । कांग्रेससँगै शैक्षिक जागरणको नेतृत्व गर्ने व्यक्तिलाई नै कम्युनिस्ट बनाउन सकिन्छ कि भनेर मेघनाथ लम्सालले प्रयास गर्नुभएको थियो । लामो बहस र छलफलपछि पनि मेघनाथ सरको प्रयास सफल हुन नसकेको उहाँले हामीलाई पछि सुनाउनु हुन्थ्यो । 

सिन्धुलीका मेघराज कोइराला भीम माध्यमिक विद्यालय दोलखामा २०२५ सालतिर प्रधानाध्यापक हुँदा यता क्षमावतीमा म पनि पढाउँथे । नजिकका दुई विद्यालयका शैक्षिक अवस्थाको बारेमा कुरा गर्न बेलाबेलामा कोइराला क्षमावती आउँदा मेरो पनि कुरा हुन्थ्यो । नन्दप्रसादसँग भने शैक्षिक कुराका अतिरिक्त कांग्रेसको राजनीतिको कुरा पनि हुने रैछ । पछि थाहा भयो कोइराला पनि कांग्रेसको विचारसँग नजिक हुनुहुँदो रहेछ । त्यसै कारण पनि प्रतिबन्धित दोलखा कांग्रेसका सभापति नन्दप्रसादलाई भेट्न उहाँ क्षमावती आइरहनुहुँदो रहेछ । 

म क्षमावती माध्यमिक विद्यालयमा अध्यापन गर्ने समयमै हामी भूमिगत रूपमा कम्युनिस्ट सङ्गठन पनि गथ्र्यौं । २०२८ सालमा भूमिगत रूपमा जनवादी सांस्कृतिक कार्यक्रम गरेका थियौँ । मेघनाथ लम्साल क्षमावतीमा अध्यापन गर्ने समयमै कम्युनिस्ट विचार फैलिन थालिसकेको थियो । विद्यालयको एउटा ठुलो कोठामा कार्यक्रम आयोजना गरिएको थियो । फरक विचारको भए पनि प्रतिबन्धित नेपाली कांग्रेसका जिल्ला सभापति भएका नाताले हामीले नन्दप्रसादलाई निम्ता गरेका थियौँ । उहाँले आउने बचन पनि दिए पनि अन्तिम समयमा पारिवारिक कारणले सहभागिता जनाउन सक्नुभएन । उहाँले फरक विचार राख्नेहरूसँग कहिल्यै गैरराजनीतिक व्यवहार गर्नुभएन । सामाजिक आन्दोलनमा विपरीत धु्रवका भए पनि नन्दप्रसादमा असल राजनीतिक संस्कार रहेको मेघनाथजीले बताउनु हुन्थ्यो । शैक्षिक तथा सामाजिक जागरणमा परिवर्तन ल्याउने व्यक्ति नन्दप्रसादलाई उहाँको निधनपछि दोलखाको शैक्षिक तथा राजनीतिक वृत्तले सम्झिन सकेको छैन । फलको आशा नराखी निस्काम भावले आदर्श राजनीतिलाई अँगाल्दै शिक्षाको ज्योति छर्ने नन्दप्रसादलाई मरणोपरान्त भए पनि सम्मान गर्न कन्जुस्याइँ गर्नुहुन्न ।   

Author

गोपाल थपलिया