राममणि दाहाल
हेटौँडा, वैशाख २१ गते । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकका आह्वानमा प्रदेश सभा सचिवालय, हेटौँडामा सर्वदलीय बैठक सुरु भएको छ ।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको सर्वदलीय बैठक एक घण्टा ढिलो गरी सुरु भएको हो । प्रदेश सभाअन्तर्गतका समितिहरूको सभापति चयनलगायतका गतिरोध रही रहेको समयमा आह्वान गरिएको यस बैठकबाट सभापति चयनमा सहमति जुटाउनेलगायतका विषय रहेका छन् ।
बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल, मन्त्रीहरू, उपसभामुख, प्रदेश सभा प्रतिनिधित्व गर्ने दलका नेताहरू र सचेतकहरूसहितको सहभागिता रहेको छ ।
सर्वदलीय बैठकमा संसदीय समिति सभापति निर्वाचन, बजेट अधिवेशनलगायतका विषयहरूमा छलफल गरिने भएको छ ।
प्रदेश सभा निर्वाचन भएर प्रदेश सभा गठन भएको करिब डेढ वर्ष पुग्न लाग्दासमेत अझै प्रदेश सभा अन्तर्गतका समितिका सभापतिहरूको चयन हुन सकेको छैन ।
सभापति चयन नहुँदा समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा समितिको बैठक बस्दै आए पनि समितिको जिम्मेवारी अनुसार समिति प्रभावकारी बन्न सकेका छैनन् । साथै समिति अपेक्षित रूपमा क्रियाशील नबन्दा हाल समितिमा चार वटा विधेयक रोकिएर बसेको छ ।