भक्तपुर, वैशाख २० गते । चाँगुनारायण नगरपालिकाले स्वच्छ वातावरण निर्माण गर्न वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार गरेको छ । दैनिक बढ्दै गएको वायु प्रदूषणले नेपालमा चुनौती थपिरहेका बेला चाँगुनारायण नगरपालिकाले भने वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने कार्यतालिकै सार्वजनिक गरेको छ ।
नगरपालिकाका प्रमुख जीवन खत्रीले नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने संवैधानिक अधिकार सुनिश्चित गर्न नगरवासीको सहभागितामा कार्ययोजना बनाइएको हो । जस अनुसार सार्वजनिक यातायातलाई सबै नगरवासीका लागि सहज उपलब्धता गराई पहुँचयोग्य र किफायती बनाउँदै जाने, नगरपालिकाले निर्माण गरेका वा भविष्यमा निर्माण गर्ने मुख्य सडक र पदमार्ग खुला क्षेत्र वातावरणमैत्री बनाउने, ठूला मालवाहक सवारीसाधनलाई निश्चित समयमा मात्र आवतजावत अनुमति दिने योजना छ ।
त्यस्तै नदी किनारमा कोरिडोर निर्माण गर्ने, सडक मर्मत सुधार गर्दा सकेसम्म काम छिटो गर्ने, धुलो कम उड्ने गरी व्यवस्थापन मिलाउने, नगर क्षेत्रमा रहेका इँटा तथा अन्य उद्योगका उत्सर्जन तथा कृषि क्षेत्रमा कीटनाशक विषादी प्रयोगबाट हुने प्रदूषण न्यूनीकरण गरी हरित अर्थतन्त्रको प्रवर्धन गर्ने नगरपालिकाले निर्माण गरेको कार्ययोजनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ सम्ममा कार्ययोजना कार्यान्वयन गरिसक्ने गरी कार्ययोजना बनाएको छ । उक्त कार्ययोजना कार्यान्वयन गर्न चाँगुनारायण नगरपालिका, ट्राफिक व्यवस्था कार्यालय, यातायात व्यवसायी, उद्योगी, नागरिक समाज, निजी र वित्तीय संस्था, सडक विभाग, विद्युत् प्राधिकरणलगायतका निकायसँग समन्वय र सहकार्य गर्ने नगर प्रमुख खत्रीले बताउनुभयो ।
नगरपालिका प्रमुख प्रशाकीय अधिकृत चूरामणि पन्थीले ७५३ स्थानीय तहमध्ये वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने चाँगुनारायण नगरपालिका पहिलो भएको दाबी गर्नुभयो । उहाँले कार्ययोजनालाई नगरपालिकाले सबै सरोकारवालाई जिम्मेवार बनाएर कार्यान्वयन गराई वायु गुणस्तर व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
चाँगुनारायण नगरपालिका क्षेत्रमा कुल ५२ वटा इँटा उद्योग रहेको सन् २०१७ को नगरपालिकाको प्रोफाइल अनुसार नगरपालिकामा १२ हजार ११ वटा स्थानीय सवारीसाधन नगरपालिकाको सडकमा नियमित रूपमा गुड्ने चाँगुनारायण नगरपालिकाले जनाएको छ ।