• ४ पुस २०८१, बिहिबार

‘रारामा रिसोर्ट बन्नु सुखद’

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रारा होल्डिङ्सका प्रतिनिधि भेट गर्नुहुँदै ।

काठमाडौँ, वैशाख २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा भएको बताउनुभएको छ । सोमबार सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ्ससँग एक्पर्ट ग्रुप अस्ट्रेलियाले रिसोर्ट निर्माणका निम्ति सम्झौता गरेको थियो । 

प्रधानमन्त्री प्रचण्डले सो सम्झौताप्रति खुसी व्यक्त गर्दै यसबाट नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । बुधबार बिहान रारा होल्डिङ्सका प्रतिनिधिसँगको कुराकानीमा प्रधानमन्त्रीले भन्नुभयो, “राराको मुर्माटपमा रिसोर्ट निर्माणका निम्ति भएको सम्झौता महत्वपूर्ण छ । नेपालमा समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्रमध्ये पर्यटन एक महत्वपूर्ण क्षेत्र हो । तपार्इंहरू निजी क्षेत्र आफैँले यसनिम्ति पहल लिनुभएकोमा म खुसी छु ।”  

प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने विश्वाससमेत दिलाउनुभयो । उहाँले भन्नुभयो, “रिसोर्ट निर्माणका निम्ति राज्यले समेत पूर्वाधार विकासमा भूमिका खेल्ने छ । मुख्यतः त्यहाँ पुग्ने सडक निर्माण, विद्युत् प्रसारण, खानेपानीलगायतका क्षेत्रमा नेपाल सरकारका तर्फबाट सहयोग हुने छ । यो लगानीले नेपालमा पर्यटक भित्र्याउन मात्र सहयोग पुग्ने छैन, आन्तरिक राजस्वसमेत अभिवृद्धि हुने छ ।” 

भेटमा रारा होल्डिङ्स प्रालिका अभिषेकविक्रम शाह र एक्पर्ट ग्रुप अस्ट्रेलियाका सञ्जीव शर्माले लगानी सम्मेलनमा भएको सम्झौताबमोजिम निर्धारित समयमै काम सम्पन्न गरिने बताउनुभयो । तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ्स र एक्पर्ट ग्रुप अस्ट्रेलियाबिच एक अर्ब १० करोड रुपियाँ लागतमा रारामा अत्याधुनिक रिसोर्ट निर्माण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।