• १३ मंसिर २०८१, बिहिबार

प्राथमिकतामा कर्मचारी व्यवस्थापन

blog

काठमाडौँ, वैशाख २० गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले मन्त्रालयको नाम अनुसारकै कामलाई सार्थकता दिने गरी मन्त्रालयले नीतिगत र व्यावहारिक रूपमा काम गर्दै आएको बताउनुभएको छ । 

मन्त्रालयको नामै सङ्घीय मामिला तथा सामान्य प्रशासन भएकाले अहिले मन्त्रालयले सङ्घीयता कार्यान्वयन र तिनै तहमा कर्मचारी व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, “अहिले सङ्घीयताप्रति आमनागरिकले विभिन्न प्रश्न गरेको र उक्त प्रश्नलाई सम्बोधन गर्दै सङ्घीय शासन प्रणालीलाई प्रभावकारी बनाउने गरी मन्त्रालयले नीतिगत रूपमै योजना बनाइरहेको छ ।” उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय गर्दै अन्तरतह समन्वय र विस्तार गर्नका लागि कार्ययोजना तयार गरी कार्यान्वयन गर्न लागिरहेको बताउनुभयो । 

मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा पु¥याएको चर्चा गर्दै उहाँले सङ्घ र प्रदेश तहमा पनि आवश्यक कर्मचारी व्यवस्थापन गर्न लागिएको बताउनुभयो । 

तीन तहको सरकारमध्ये नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तहै भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई आवश्यक तालिम प्रदान गरी स्थानीय तहलाई नमुना कानुन निर्माण गरी मन्त्रालयले स्थानीय तहमा पठाइरहेको छ ।”