• १२ साउन २०८१, शनिबार

पशुपति आर्यघाटको विद्युत शवदाह साउन १ देखि निःशुल्क गरिने

blog

पशुपति आर्यघाटस्थित विद्युत शवदाह । फाइल तस्बिर

काठमाडौँ, वैशाख १९ गते । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले सो जानकारी दिनुभएको हो । 

निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । सो शवदाहलाई निःशुल्क गर्ने विषयमा यसअघि पनि हामीले पहल गर्दै आएका थियौँ । अब आगामी साउन १ गतेदेखि विद्युत शवदाह निःशुल्क गर्छौ ।” 

यसैगरी सदस्य सचिव डा.थापाले सेतो सत्तल गुहेश्वरीमा  धार्मिक एवम् सांस्कृतिक अध्ययन अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय भएको जानकारी पनि दिनुभयो । पशुपतिनाथमा जलहरी राख्ने कार्यमा भ्रष्टाचार भएको भन्दै मुद्दा परेपछि निलम्बनमा परेका सदस्य सचिव डा.थापाले मङ्गलबार विशेष अदालतबाट सफाइ पाएपछि पुनः कार्यभार ग्रहण गर्नुभएको छ । विशेष अदालतले मङ्गलबार सदस्य सचिव डा.थापासहित डा.प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वि.सं.२०८० असोज १४ गते उहाँहरु तीनै जनाविरुद्ध मुद्दा दायर गरेको थियो । रासस