• ९ जेठ २०८१, बुधबार

पर्यटकको रोजाइमा मिनी ग्रेटवाल

blog

चरीकोट समाचारदाता 

चरीकोट, वैशाख १९ गते। दोलखाको शैलुङमा निर्माणाधीन शैलुङ ग्रेटवाल पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । धार्मिक तथा पर्यटकीय स्थल शैलुङ जाँदा शैलुङ ग्रेटवालमा पनि पर्यटक बाक्लिन थालेका छन् । 

प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण सो ग्रेटवाल अहिले पर्यटकका लागि आकर्षणको केन्द्र बनेको शैलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेले बताउनुभयो । ग्रेटवाल हेर्न र शैलुङमा ध्यान, अध्ययन, अनुसन्धान तथा अवलोकन गर्न विदेशी पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको उहाँले बताउनुभयो । ग्रेटवालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताउँदै उहाँले शुव्रmबार, शनिबार र बिदाको दिन पर्यटकको सङ्ख्या उल्लेख्य रहने गरेको बताउनुभयो । नयाँ वर्षमा मात्रै करिब २० हजार पर्यटक ग्रेटवाल हुँदै शैलुङडाँडासम्म पुगेको न्यौपानेको भनाइ छ । 

पर्यटकीय क्षेत्र शैलुङडाँडामा पर्यटन प्रवर्धन गर्न मिनी ग्रेटवाल निर्माणको काम सुरु गरिएको थियो । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा शैलुङ ग्रेटवाल निर्माण गरिएको हो । शैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुङ्गा ९५० मिटरसम्म निर्माणको डिपिआर तयार गरिए पनि अहिले पाँच सय मिटर मात्र ग्रेटवाल निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । ग्रेटवाल निर्माणका लागि सङ्घीय सरकारको ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट लगानी रहेको छ । प्रारम्भिक चरणमा पाँच सय मिटर ग्रेटवाल निर्माणका लागि चार करोड ९४ लाख १५ हजार ४१८ रुपियाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो । नेदरल्यान्डका पर्यटकले समेत शैलुङ ग्रेटवाल अवलोकनसँगै शैलुङडाँडाको भ्रमण गरेका छन् । नेदरल्यान्डका नागरिक हरेक वर्ष शैलुङ घुम्न आउने गरेको शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरत दुलालले बताउनुभयो । 

सरकारले नेपालका सय वटा पर्यटकीय स्थलमा पर्यटन पूर्वाधार निर्माण गर्ने अभियान अन्तर्गत शैलुङमा ग्रेटवाल निर्माणका लागि प्रस्ताव गरिएको थियो । शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरत दुलालले सङ्घीय सरकारले पर्यटकीय गन्तव्य निर्माणका लागि सहयोग गर्ने भएपछि शैलुङलाई मुख्य पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ गाउँपालिकाले ग्रेटवाल निर्माणको प्रस्ताव गरेको दुलालले बताउनुभयो । ग्रेटवाल निर्माणपछि शैलुङलगायत यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्ने उहाँले बताउनुभयो । ग्रेटवाल निर्माणलाई थप व्यवस्थित बनाउन आगामी आर्थिक वर्षमा थप बजेट विनियोजन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । 

काठमाडौँबाट सिन्धुपाल्चोकको मुडे–मिनी ग्रेटवाल हुँदै शैलुङ पुग्न सकिन्छ ।