• ८ जेठ २०८१, मङ्गलबार

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार

blog

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी । फाइल तस्बिर

सुदूरपश्चिम, वैशाख १८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेशसभा सदस्य टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने टीका थापालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । 

वैशाख ६ गते सोडारी मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै सोही दिन नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त हुनुभएको थियो । आज थप एक मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् विस्तार गरेपनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, पर्यटन वन तथा वातावरण र आर्थिक मामिला मन्त्रालय आफैँसँग राख्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष पक्षधर प्रदेश सभा सदस्य र स्वतन्त्र सदस्य डा.तारा जोशी समेतको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई प्रदेश प्रमुखले धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ गराउनुभयो । 

सत्ता समीकरण फेरिएसँगै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सोडारीलाई नेकपा (एमाले) ले तत्काल बाहिर बसेर समर्थन गरी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सत्ता साझेदार अर्का दल नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलो साम्य नहुँदा मन्त्रिपरिषद्लाई पूर्णता दिन अझै सकस देखिएको छ । मन्त्रिपरिषद् पूर्णतामा भइरहेको ढिलाइले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलगायतका विषयको तयारी प्रभावित हुने अनुमान गरिएको छ । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र) का सभामुखसमेत १० सदस्यको प्रतिनिधित्व छ । बझाङमा भएको उपनिर्वाचनपछि नेकपा एमालेको एक सदस्य थप भई ११ पुगेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ । रासस