• १२ पुस २०८१, शुक्रबार

चरम सङ्कटमा हैटी

blog

क्यारेबियन क्षेत्रको एक गरिब मुलुक हैटी चरम सङ्कटमा फसेको छ । तीन वर्षअघि सन् २०२१ को जुलाईमा बन्दुकधारी समूहले त्यहाँका राष्ट्रपति जोभेनेल मोइजको हत्या गरेपछि अहिलेसम्म निर्वाचित नेतृत्व आउन नसकेकाले हैटीमा अस्थिरता छ ।

अहिले निर्वाचित राष्ट्रपतिको माग गर्दै बन्दुकधारी समूहले राजधानी पोर्ट–अ–प्रिन्स कब्जा गरेका छन् । राजधानीमा कफ्र्यु र एक महिनाका लागि सङ्कटकाल लागू गरिएको छ । मुलुक सम्हाल्न नसकेपछि अन्तरिम प्रधानमन्त्री एरियल हेनरीले राजीनामा घोषणा गरेका छन् । 

कैयौँ सातादेखि चुलिँदो दबाब र बढ्दो हिंसापछि प्रधानमन्त्री हेनरीले राजीनामाको घोषणा गरेसँगै नयाँ सङ्क्रमणकालीन सरकार बनाएर छिटोभन्दा छिटो चुनाव गराउने विषयमा क्यारेबियन क्षेत्रका नेताहरूले जमैकामा छलफलसमेत गरे । हेनरीले जमैकाबाट राजीनामा घोषणा गरेका हुन् ।

सन् २०२१ को जुलाईमा राष्ट्रपति मोइजको हत्या भएपछि उनले अन्तरिम हैसियतमा देशको नेतृत्व गर्दै आएका थिए । उनले समयमै चुनाव गरी नेतृत्व हस्तान्तरण गर्न भने सकेनन् । सुरक्षा व्यवस्थालाई कारण देखाउँदै बारम्बार चुनाव सार्दै आएकोमा उनको चर्को विरोध हुँदै आएको थियो ।

बन्दुकधारीले यतिखेर राजधानी पोर्ट–अ–प्रिन्सका सडक कब्जा गरेका छन् भने त्यहाँको मुख्य जेलमा आक्रमण गरी हजारौँ बन्दी भगाएका छन् । उनीहरूले निर्वाचित नभएका प्रधानमन्त्री हेनरीको राजीनामा माग गर्दै आएका थिए ।

हैटीको सुरक्षा निकायले मुलुकमा सुरक्षा व्यवस्था कायम गर्न नसक्ने देखिएकाले अब छिट्टै त्यहाँ अन्तर्राष्ट्रिय सुरक्षा बल परिचालन गरी सङ्क्रमणकालीन सरकार गठन गरिने भएको छ । देश बाहिरबाट यस्तो तयारी गरिए पनि राजधानीमै अराजकता फैलिएकाले कसरी शान्ति सुरक्षा पुनर्बहाली गर्ने मुख्य चिन्ताको विषय बनेको छ । सशस्त्र समूहसँग वार्ता गरी परिस्थितिलाई सहज नबनाएसम्म अगाडि बढ्न सक्ने अवस्था छैन ।

सानो यो मुलुकको राजधानी पोर्ट–अ–प्रिन्सस्थित निवासमै राष्ट्रपति मोइजको सन् २०२१ को जुलाई ७ मा हत्या गरिएसँगै पुनः दुर्दिन सुरु भएको थियो । २८ जनाको बन्दुकधारी समूहले उनको निवासमै आक्रमण गरी हत्या गरेपछि त्यहाँ सङ्कटकाल लागू गरियो । २८ जना बन्दुकधारीमध्ये २६ जना कोलम्बियाली र दुई जना अमेरिकी थिए । मोइजको हत्या किन गरियो भन्ने कुरा रहस्यमै छ । मोइज संविधान संशोधन गरी देशमा सुधार गर्ने पक्षमा थिए । अनुदारवादीलाई यो कुरा मन परेको थिएन ।

त्यसपछि तत्कालका लागि अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले कार्यकारी अधिकार लिए । पछिल्लो समय हैटीमा राजनीतिक विवाद बढ्दै गएको थियो । मोइजले आफ्नो हत्या हुनुभन्दा दुई दिनअघि मात्रै नयाँ प्रधानमन्त्रीका रूपमा एरियल हेनरीलाई नियुक्त गरेका थिए तर उनले शपथ लिन पनि पाएनन् ।

परिस्थिति केही सहज भएपछि हेनरीले अन्तरिम प्रधानमन्त्रीका रूपमा काम सुरु गरे । उनले छिटोभन्दा छिटो चुनाव गराउने बताए पनि त्यसपछिका दिन अनुकूल बन्न सकेनन् ।

अश्वेत जातिको पहिलो गणतान्त्रिक मुलुक बनेको हैटीमा ६० प्रतिशत जनता गरिबीको रेखामुनि छन् । यो मुलुकले राजनीतिक अस्थिरता, हिंसा, हत्या, भ्रष्टाचार, कुशासन, विदेशी हस्तक्षेप, विभाजन, प्राकृतिक विपत्तिको सामना गर्दै आएको छ । जनतालाई त्यहाँ कहिल्यै पनि सुविस्ता भएन । गरिबी, बेरोजगारी प्रमुख समस्या बनेको छ । मुुलुक हाँक्ने राम्रो शासक पाउन नसक्दा जनताले दुःख पाएका छन् । यहाँ राजनीतिक दाउपेच, सत्ता स्वार्थमा सधैँ नेतृत्व केन्द्रित रह्यो । देश र जनताको पक्षमा काम भएन । अहिलेसम्म पाँच जना शासकको हत्या भइसकेको छ ।

सन् १४९२ मा क्रिस्टोफर कोलम्बसले यो टापु पत्ता लगाएका थिए । उनले यसलाई सानो स्पेनको नाम दिए । सन् १६९७ देखि यो मुलुक फ्रान्सको अधीनमा गयो ।

सन् १८०४ मा जेन ज्याक डेसालिनको नेतृत्वमा हैटी स्वतन्त्र भयो । डेसालिनले आफूलाई राजा घोषित गरे । उनले दुई वर्ष पनि राज गर्न पाएनन् । सन् १८०६ मा उनको हत्या गरियो । डेसालिनले स्वतन्त्र बनाएको मुलुक विभाजित भयो । सन् १८१८ मा पाइरे बोयरले विभाजित मुुलुक एकीकरण गरेसँगै केही समय शान्त जस्तो देखिए पनि सत्ताको हानथापमै वर्षौं बित्यो ।

अमेरिकाले पछि हैटीमा लगानी ग¥यो तर आफ्नो पुँजी र लगानी असुरक्षित भएको भन्दै सन् १९१५ मा अमेरिकाले हैटीमाथि कब्जा जमायो । सन् १९४७ मा मात्र अमेरिकाले हैटीबाट आफ्ना सैनिक फिर्ता लगेको थियो । त्यहाँ सन् १९५७ मा राष्ट्रपतिको निर्वाचन भयो ।  फ्राङ्कोइस पापा डक डेबालिएरले चुनाव जिते तर उनले आफूलाई आजीवन राष्ट्रपति घोषित गरे । उनको सन् १९७१ मा निधन भयो । त्यसपछि उनका छोरा जन क्लाउड बेबे डक डेबालिएरले सत्ता हातमा लिए । उनले पनि बावुकै नीति अख्तियार गरी आफूलाई आजीवन राष्ट्रपति घोषणा गरे । उनको अत्याचारी शासनविरुद्ध ठूलो विद्रोह भयो । सन् १९८६ मा उनलाई सत्ताच्यूत गरेसँगै त्यहाँ २९ वर्षे पारिवारिक शासन अन्त्य भएको थियो ।

सन् १९९० मा त्यहाँ पहिलो पटक स्वतन्त्र र निष्पक्ष चुनाव भयो । फादर जेन बर्टान्ड एरिस्टिड राष्ट्रपति निर्वाचित भए तर एक वर्षपछि सेनाले उनलाई हटाई सत्ता हातमा लियो । त्यसको विरोधमा अमेरिकाले नाकाबन्दी लगायो । सन् २००४ मा प्रजातन्त्र पुनस्र्थापना गर्ने भन्दै अमेरिकाले त्यहाँ २० हजार सैनिक पठायो । एरिस्टिडको सत्ता पुनस्र्थापना भयो तर उनलाई सत्ता चलाउन दिइएन । हिंसा र अराजकता बढ्यो । अनि संयुक्त राष्ट्रसङ्घले पनि शान्ति सेना पठायो ।

सन् २००५ मा विद्रोही नेता रेभिक्स रेमिसेन्थेको हत्या भयो । यस घटनाले समस्या झन् बल्झियो । सन् २००६ मा भएको राष्ट्रपतीय निर्वाचनमा रेने प्रेभल निर्वाचित भए । अनि अमेरिकाले हैटीमाथि लगाएको नाकाबन्दी केही खुकुलो ग¥यो । हैटीको विकासका लागि विदेशी सहयोग आह्वान गरियो । केही विदेशी लगानी भित्रियो पनि तर २०१० मा त्यहाँ विनाशकारी भूकम्प गयो । त्यसमा तीन लाख मानिस मरे । त्यहाँको अधिकांश भौतिक संरचना ध्वस्त भयो । भूकम्पछि हैजाको महामारीले हजारौँ मानिस मरे । हैटी झन् अस्तव्यस्त बन्यो ।

सन् २०११ मा भएको राष्ट्रपतीय निर्वाचनमा मिसेल मार्टेली निर्वाचित भएका थिए । उनको कार्यकाल पनि विवादमै बित्यो । विरोध प्रदर्शन, हिंसात्मक घटना रोकिएनन् । सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा मोइज निर्वाचित भई सन् २०१७ देखि सत्ता सम्हाले । सोही वर्ष राष्ट्रसङ्घ शान्ति सेना फिर्ता भयो । शान्ति सेना फिर्ता भएसँगै फेरि हिंसात्मक प्रदर्शन सुरु भए । विपक्षीहरू राष्ट्रपतिविरुद्ध उभिए । यही अन्योलबीच बन्दुकधारी समूहले राष्ट्रपति मोइजको हत्या ग¥यो ।

एक करोड २० लाख जनसङ्ख्या रहेको हैटीको क्षेत्रफल २७ हजार ७५० वर्ग किमी छ । यहाँको मुख्य भाषा क्रेओल र फ्रेन्च हो । यहाँका मानिस इसाई धर्म मान्छन् । औसत आयु पुरुषको ६१ वर्ष र महिलाको ६४ वर्ष रहेको छ ।   

Author

रामप्रसाद आचार्य