• २२ वैशाख २०८१, शनिबार

बृहस्पतिको अन्वेषण

blog

मानिसले बृहस्पति ग्रहको अध्ययन/अनुसन्धान गर्न लागेको चार सयभन्दा बढी वर्ष भएको छ । सन् १९७० को दशकदेखि मात्र मानिसले त्यहाँ अन्तरिक्ष यान पठाइरहेको छ । सन् १९७३ यता नौ वटा अन्तरिक्ष यान बृहस्पति नजिक पुगेका छन् र तिनीहरूको सहयोगबाट मानिसले बृहस्पतिका बारेमा धेरै कुरा पत्ता लगाएको छ । 

यी सबै बृहस्पति अन्वेषण अभियान नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) द्वारा सञ्चालन गरिएको थियो । तीमध्ये दुई यान त बृहस्पतिको धेरै नै नजिक पुगे । अन्यले बृहस्पतिको कक्षमा प्रवेश नगरी अवलोकन मात्र गरेका थिए । बृहस्पति ग्रहको हालसम्म भएका अन्वेषण यस प्रकारका छन् :

पायोनियर अभियान (सन् १९७३ र १९७४ )

बृहस्पतिको खोज गर्ने पहिलो अन्तरिक्ष यान पायोनियर–१० थियो । जो सन् १९७२ डिसेम्बरमा ग्रह नजिक पुग्यो । त्यसपछि पायोनियर–११ ले बाह्र महिनापछि बृहस्पतिको नजिक भएर अगाडि बढ्यो ।  पायोनियर–१० ले बृहस्पति र यसको ग्यालिलियन चन्द्रमाको पहिलो ‘क्लोज–अप’ तस्बिर खिचेको थियो । 

यस अन्तरिक्ष यानले  बृहस्पतिको  वायुमण्डलको अध्ययन तथा त्यसको चुम्बकीय क्षेत्रको अध्ययन गर्‍यो ।  साथै उक्त अन्तरिक्ष यानले यसको विकिरण ‘बेल्ट’ अवलोकन ग¥यो । पायोनियर–११ ले सन् १९७४ डिसेम्बर ४ मा बृहस्पतिको ‘क्लाउड टप्स’ को लगभग ३४ हजार किलोमिटर माथिबाट सबैभन्दा नजिकबाट यसलाई  नियालेको थियो । यसले ठूला रातो दागको तस्बिर खिच्यो,  बृहस्पतिको ध्रुवीय क्षेत्रहरूको अवलोकनसमेत गरेको थियो । साथै बृहस्पतिको चन्द्रमा कालिस्टोको द्रव्यमान पायोनियर–११ ले निर्धारण गरेको थियो । यी दुई अन्तरिक्ष यानद्वारा एकत्रित जानकारीले खगोलविद्हरूलाई यस विशाल ग्रहको वातावरण बुझ्न धेरै सहयोग पुग्यो । 

भोएजर अभियान (सन् १९७९)

सन्  १९७९ जनवरी १ देखि भोएजर–१ ले बृहस्पतिको तस्बिर खिच्न सुरु गरेको थियो । सन् १९७९ मार्च ५ मा बृहस्पतिको केन्द्रदेखि तीन लाख ४९ हजार किमीको दूरीमा रहेर यसले ठूलो ‘रिजोल्युसन’ को तस्बिर खिच्यो । भोएजर–१ ले बृहस्पतिको तस्बिर अप्रिलसम्म खिच्यो । यसपछि चाँडै भोएजर–२ यान सन् १९७९ जुलाई ९ मा बृहस्पतिको पाँच लाख ७६ हजार किलोमिटर नजिक पुग्यो । उक्त यानले बृहस्पतिको  रिङ पत्ता लगायो र यसको वायुमण्डलमा भएका जटिल भुमरी र यसका उपग्रहमा भएका सक्रिय ज्वालामुखीको अवलोकन गरेको थियो ।

भोएजर अभियानले ग्यालिलियन चन्द्रमाबारे हाम्रो बुझाइमा ठूलो सुधार ल्यायो, बृहस्पतिका रिङ पनि पत्ता लगायो । ग्रहको तिनीहरूले खिचेका तस्बिरबाट बृहस्पतिका ठूला दाग घडीको विपरीत दिशामा सक्रिए आँधी भएको पत्ता लागेको थियो । त्यहाँ अन्य साना तूफान र चक्रवात पनि पत्ता लागे ।

बृहस्पतिको चन्द्रमा आयोमा ज्वालामुखी गतिविधिको खोज यस अभियानको सबैभन्दा ठूलो अप्रत्याशित खोज मानियो । एक सक्रिय ज्वालामुखी पृथ्वीबाहेक अन्य आकाशीय पिण्डमा अवलोकन गरिएको यो पहिलो पटक थियो । साथै भोएजर यानले आयो चन्द्रमा नौ ज्वालामुखी विस्फोट भएको रेकर्ड गर्‍यो ।

युलेसिस (सन् १९९२ देखि २००४)

युलेसिस एउटा रोबोटिक यान थियो । जसको प्राथमिक लक्ष्य सूर्यको परिक्रमा गर्नु र यसका सबै अक्षांशको अध्ययन गर्नु थियो । यसले सन् १९९४/१९९५, २०००/२००१ तथा २००७/२००८ मा सूर्यको अध्ययन गरेको थियो । थपमा यस यानले धेरै धुमकेतुको अध्ययनसमेत गर्‍यो । सन्  १९९२ फरवरी ८ मा युलेसिस यानले चार लाख ५१ हजार किलोमिटरको दूरीबाट बृहस्पतिको उत्तरी ध्रुव नियालेको थियो । यस यानले बृहस्पतिको चुम्बकीय क्षेत्रको मापन पनि गर्‍यो । सन् २००४ फेब्रुअरीमा यो यान फेरि बृहस्पतिको नजिक पुगेको थियो । 


कासिनी (सन् २०००)

सन २००० मा क्यासिनी यानले शनि ग्रह जाँदै गर्दा बाटोमा परेको बृहस्पति ग्रहको उच्च ‘रिजोल्युसन’ का तस्बिर खिचेको थियो । यो यान बृहस्पति ग्रहको सबैभन्दा नजिक सन् २००० डिसेम्बर ३० मा पुग्यो । यसले बृहस्पतिको लगभग २६ हजार तस्बिर खिचेको थियो । यसले रङ्गिन तस्बिरसमेत खिच्यो ।

न्यु होराइजन (सन् २००७)

न्यु होराइजन यान यमतिर गइरहेका बेला गुरुत्वाकर्षण बलका लागि बृहस्पति नजिक भएर उडेको थियो । सन् १९९० को दशकमा युलेसिसपछि बृहस्पतितिर सिधै प्रक्षेपण गरिएको पहिलो यान थियो । न्यु होराइजनका उपकरणले बृहस्पतिको सानो रातो दाग र ग्रहको चुम्बकीय क्षेत्र तथा कमजोर रिङ प्रणालीको पनि अध्ययन गर्‍यो । 

ग्यालिलियो (सन् १९९४–२००३)

बृहस्पतिको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यान ग्यालिलियो अर्बिटर थियो । जसले सन् १९९५ डिसेम्बर ७ मा बृहस्पतिको परिक्रमा गर्‍यो । यसले सन् २००३ सेप्टेम्बर २१ मा बृहस्पतिसँग नियोजित ठक्कर  खाएर नष्ट हुनुअघि त्यसको ३५ पटक परिक्रमा गरिसकेको थियो । ग्यालिलियो यान धुमकेतु सुमाकर लेभी सन् १९९४ मा बृहस्पति ग्रहमा ठोक्किँदाको साक्षी बनेको थियो । 

जुनो (२०१६ देखि सक्रिय)

बृहस्पति ग्रहको विस्तृत अध्ययन गर्न नासाले सन् २०११ अगस्ट ५  मा जुनो यान प्रक्षेपण गरेको थियो । यसले सन् २०१६ जुलाई ५ मा बृहस्पतिको ध्रुवीय कक्षमा प्रवेश ग¥यो । अन्तरिक्ष यानले ग्रहको संरचना, गुरुत्वाकर्षण क्षेत्र, चुम्बकीय क्षेत्र, र ध्रुवीय चुम्बकीय क्षेत्र अध्ययन गरिरहेको छ । जुनोले बृहस्पति कसरी बनेको हो, ग्रहको चट्टानी ‘कोर’ छ वा छैन, घना वायुमण्डलमा रहेको पानीको मात्रा र ग्रहभित्र द्रव्यमान वितरणको अवस्था जाँच गरिएको छ । 

प्रस्तावित अभियान

नासाको युरोपा क्लिपर अन्तरिक्ष यानले सन् २०२४ मा SpaceX Falcon Heavy rocket बाट बृहस्पतिको चन्द्रमा युरोपाको यात्रा सुरु गर्ने छ । यसको उद्देश्य युरोपाले जीवनलाई समर्थन गर्न सक्छ कि भनेर पत्ता लगाउनु हो ।  सन् २०३० मा बृहस्पतिको कक्षमा पगेर यसले पृथ्वीबाहेक अन्यत्र अर्को महासागर छ कि छैन भनेर अन्वेषण गर्ने छ । 


१. बृहस्पति सौर्यमण्डलको चौथो सबभन्दा चम्किलो पिण्ड हो । सूर्य, चन्द्रमा र शुक्र ग्रहपछि बृहस्पतिलाई चौथो चम्किलो पिण्ड मानिन्छ । यो ग्रहलाई हामीले नाङ्गो आँखाले पनि देख्न सक्छौँ ।  

२. बृहस्पतिको एक दिन अन्य सबै ग्रहका भन्दा छोटो  हुन्छ ।  यसले केवल नौ घण्टा ५५ मिनेटमा आफ्नो धुरीमा फन्को लगाउँछ । 

३. बृहस्पति धेरै भारी छ । यसको शक्तिले सूर्यलाई पनि प्रभावित  गर्छ । बृहस्पतिको द्रव्यमान बाँकी सबै ग्रहको कुल द्रव्यमानभन्दा ढाई गुणा ज्यादा छ । 

४. बृहस्पति ग्रह ९० प्रतिशत हाइड्रोजन, १० प्रतिशत हिलियम तथा केही मात्रामा मिथेन, पानी, अमोनिया र चट्टानबाट   बनेको छ । यसको सतह ठोस नभएर ग्यासयुक्त छ ।

५. बृहस्पतिमा  पछिल्लो  ३५० वर्षदेखि एक आँधी चलिरहेको छ र यो आँधी रातो बादलबाट बनेको छ । यो आँधी  तीन वटा पृथ्वी अट्ने जति ठूलो छ । तस्बिर हेर्दा यो एक रातो दागका रूपमा देखिन्छ । यसलाई  बृहस्पतिको रातो आँखा पनि भनिन्छ ।    

६. सन् १६१०  मा  ग्यालिलियोले सबभन्दा पहिले बृहस्पतिलाई दूरबिनद्वारा हेरेका थिए ।  बृहस्पतिका ९५ चन्द्रमा वा उपग्रह छन् । जसमा उपग्रह गेनीमेड सबभन्दा ठूलो छ । यो बुध ग्रहभन्दा पनि ठूलो छ ।  

७. एक किसिमले बृहस्पति ग्रह पृथ्वीका लागि एक रक्षक हो । पृथ्वीतर्फ आउने कैयौँ पिण्डलाई यसले आफ्नो गुरुत्वाकर्षण बलबाट आफूतिर तानेर हाम्रो रक्षा गर्छ । 

८. हिन्दु धर्मको मान्यता अनुसार बृहस्पति देवताहरूका गुरु हुन् । रोमनहरूका अनुसार बृहस्पति शनि ग्रहको छोरा र देवताहरूका राजा, ओलम्पसका सम्राट तथा रोमन साम्राज्यका रक्षक हुन् ।   

Author

ज्योत्सना श्रेष्ठ