• १८ वैशाख २०८१, मङ्गलबार

प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत बुवा–आमाका लागि लगानी गर्नुपर्छ : मन्त्री चौधरी

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी ।

सुनसरी, वैशाख ४ गते। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बुवा आमाका लागि खर्च गर्नुपर्ने बताउनुभएको छ। सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो। 

‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो। अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्नो बाबु आमाका लागि खर्च गर्नुपर्छ’, उहाँले भन्नुभयो। ज्येष्ठ नागरिकको सुरक्षाका निम्ति यो काम गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताउनुभयो। सबैभन्दा पहिले जनप्रतिनिधिबाट यो कार्यको सुरुआत गर्नुपर्ने भन्दै उहाँले बिस्तारै सबै क्षेत्रमा सुरु हुने विश्वास व्यक्त गर्नुभयो। 

त्यस्तै अपंगता भएका व्यक्तिको पक्षमा पनि यो काम अनिवार्य हुन जरुरी रहेको बताउनुभयो। त्यस्तै कतिपय अपाङ्गता भएका व्यक्तिको अवस्था एकदमै दयनीय रहेको भन्दै उहाँले पूर्ण अपाङ्गता भएका व्यक्तिको पक्षमा उसको परिवार पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो। 

राज्यले पनि ऐनमार्फत विभिन्न व्यवस्था गरेर अगाडि बढेको मन्त्री चौधरीले बताउनुभयो। मुलुकका हरेक वर्गको पक्षमा सरकारले काम गर्ने बताउँदै उहाँले महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिको पक्षमा अत्यन्त मानवीय संवेदना जोडिएको क्षेत्रको जिम्मेवारीमा आफू रहेको  बताउनुभयो। 

अत्यन्तै मानव संवेदनशील मन्त्रालयको जिम्मेवारीमा सम्हालिरहेको छु। जसले ५१ प्रतिशत महिला, ८.१३ प्रतिशत ज्येष्ठ नागरिक, ११ प्रतिशत रहेको बालबालिका, अपाङ्गता भएका व्यक्तिको जनसङ्ख्या २‍.२ प्रतिशत जनसङ्ख्या रहेको वर्गको पक्षमा काम गर्नुपर्ने छु’, मन्त्री चौधरीले भन्नुभयो, ‘समग्रमा महिला मन्त्रालयले गर्नुपर्ने काम धेरै छ। जनसङ्ख्याको हिसाबले पनि ठुलो हिस्सा ओगट्छ। तर यस क्षेत्रमा काम गर्नका लागि पर्याप्त बजेट छैन। तर पनि मैले दिइएको स्रोतसाधनलाई बढीभन्दा बढी सकारात्मक कामका पक्षमा प्रयोग गर्ने योजनामा छु।

महिला मन्त्रालयअन्तर्गत रहेको समाज कल्याण परिषद् अन्तर्गत धेरै गैर सरकारी संस्था रहने व्यवस्था रहेको भन्दै उहाँले ती सङ्घ संस्थाले पछाडि परेका, सीमान्तकृत, समाजमा आर्थिक, सामाजिक रूपमा पछाडि परेका वर्गको पक्षमा काम गर्दै आएको बताउनुभयो। आगामी दिनका दिनमा अझ प्रभावकारी रूपमा सबै जनप्रतिनिधिले काम गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘हामी सबै जनताको मतले जनताको काम गर्नका निम्ति निर्वाचित भएर आएका हौँ। त्यस कारणले हामीले जनताको पक्षमा बढी भन्दा बढी काम गर्नुपर्छ।’

यसैगरी मन्त्री चौधरीले ५१ प्रतिशत जनसङ्ख्या रहेको महिलालाई ३३ प्रतिशत राजनीति सहभागिताको व्यवस्था भएपनि सामाजिक रूपमा अन्य विभिन्न सामाजिक सङ्घसंस्थामा, सेना, प्रहरीमा अझै पनि ३३ प्रतिशत सहभागिता पुग्न नसकेको बताउनुभयो। स्थानीय तहमा न्यायिक समितिको जिम्मेवारी उपप्रमुख, उपाध्यक्षलाई दिइएको भन्दै उहाँले बजेट निर्माण प्रक्रियामा पनि उत्तिकै भूमिका हुनुपर्ने बताउनुभयो। 

 मन्त्री चौधरीले सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित एक कार्यक्रमका बिच १२० त्यस्ता परिवारलाई व्यक्तिलाई झुल वितरण गर्नुभएको हो। गर्मी बढेसँगै तराईमा लामखुट्टेको टोकाइबाट बच्नका निम्ति झुल वितरण गरिएको मन्त्री चौधरीको सचिवालयले जानकारी दिएको छ।