• १९ वैशाख २०८१, बुधबार

अर्घौ मौलाकालिका मन्दिरमा मूर्ति समर्पण

blog

गण्डकी, वैशाख ४ गते । पोखरा महानगरपालिका-२८ स्थित अर्घौ मौलाकालिका भगवती मन्दिरमा धार्मिक अनुष्ठान सञ्चालन एवम् रथयात्रासहित महाकालीको मूर्ति समर्पण गरिएको छ । अर्घौ मौलाकालिका भगवती मन्दिर संरक्षण समितिले श्रीराम जयन्तीसमेतको अवसर पारी आज मूर्ति समर्पण गरेको हो । 

समर्पण पूर्व मूर्तिलाई रथमा सजाएर भजनकीर्तनसहित कालिका, लेखनाथ र माझठाना लगायतका स्थानमा रथयात्रा गरिएको समितिका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक सरोज भण्डारीले जानकारी दिनुभयो । रथयात्रा मैदानहुँदै नरेशपुर, जलधारे, सिलिंगे, विजयपुर, कालिकाचोक, बुढीबजार, खरानेफाँट खोलाको डिल, बहिरा स्कुल, लेखनाथचोक, रिठ्ठेपानी कुमाल गाउँ, तालचोक, खुदी, बेगनासताल, शिशुवा शिवमन्दिर, आरुपाटा, सैरे, ठूलाकोट हुँदै कालिका मन्दिरसम्म पुगेको थियो । 

पोखरा महानगरपालिका वडा नम्बर २८ को संरक्षकत्वमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सामाजिक अगुवा, धार्मिक व्यक्तित्व, उद्योगी व्यवसायी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । वि.सं.१७७२ मा स्थापना भएको यो मन्दिर बेलाबेलामा जीर्णोद्धार गरिँदै आएको छ । रासस