• १२ साउन २०८१, शनिबार

चैते छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य

blog

काठमाडौं, वैशाख २ गते । मिथिलाञ्चलको आस्थाको महापर्व चैते छठको तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

प्रत्येक वर्ष चैत र कात्तिकको शुक्ल षष्ठी तिथिका दिन जलाशयको किनारमा सूर्य र षष्ठी देवीलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाउने गरिन्छ । चार दिवसीय चैते छठ पर्वको आइतबार तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूलसहितका विभिन्न परिकारको अर्घ्य अर्पण गरी चैते छठ पर्व मनाइएको छ ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतीले नहाय खाय विधि दोस्रो दिन खरना विधि गरिएको थियो । खरनाका दिन व्रतीले दिनभर उपवास गरेर कुल देवताको पूजा गरी बेलुका प्रसाद ग्रहण गरेका थिए ।

जनकपुरको ऐतिहासिक गंगासागर, धनुष सागर र अरगजा पोखरीलाई दुलहीझैँ सिँगारेर छठ मनाइँदै छ । धनुषाका ग्रामीण क्षेत्रमा पनि हर्षोल्लासका साथै चैते छठ मनाइएको छ । छठ पर्व मान्नाले दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति हुने जन विश्वास छ ।