• २१ असार २०८१, शुक्रबार

फोहोर पानीको तालमा डुबेर बालकको मृत्यु, भेरीनदीमा एक युवा बेपत्ता

blog

बाँफिकोट गाउँपालिका–३ छिनखेतमा बालक डुबेको फोहार पानीको ताल। तस्बिर : राजु लामिछाने

राजु लामिछाने 

रुकुमपश्चिम, चैत २९ गते। रुकुम पश्चिममा पानीको तालमा डुबेका एक बालकको मृत्यु भएको छ भने एक युवा भेरी नदीमा डुबेर बेपत्ता भएका छन्। 

जिल्लाको बाँफिकोट गाउँपालिका–४ छिनखेतमा फोहोर पानी जम्मा भएको तालमा डुबेका एक बालकको मृत्यु भएको हो। चौरजहारी नगरपालिका–३ स्थित सानीभेरीमा डुबेर एक युवा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार बुधबार छिनखेतको स्थानीयको घर पछाडि रहेको फोहोर पानी जम्मा हुने तालमा डुबेका दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका ५ का अन्दाजी ५ वर्षीय बालक हिमेश थापाको उपचारको क्रममा मृत्यु भएको हो। मृतक बालकको आमा यामकुमारी थापा छिनखेतमा रहेको प्रभु बैंकमा कार्यरत हुनुहुन्छ। 

फाहोर पानीको तालम परेर गम्भीर घाइते भएका बालक थापालाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको र अस्पतालले मृत घोषणा गरेको हो। बालकको शव पोष्टमार्टमपछि आफन्तले अस्पतालबाट बुझेका छन्। 

त्यसैगरी भेरी नदीमा नुहाउन गएका जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर ३ सीमा निवासी २४ वर्षीय कमल बुढा डुबेर बेपत्ता भएका छन्।  

प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार बिहीबार दिउँसो रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ मा पर्ने भेरी नदीमा नुहाउन गएका बुढा डुबेर बेपत्ता हुनुभएको हो। 

उहाँका अनुसार चौरजहारी नगरपालिका–३ टाटागाउँमा निर्माणधीन ५० शैय्याको रुकुम चौरजहारी अस्पतालमा मजदुरी गर्ने बुढा नुहाउनको लागि दिउँसो भेरी नदीमा गएका थिए। 

बेपत्ता बुढाको खोजतलासको लागि प्रहरी टोली घटनास्थल पठाइएको डिएसपी पोखरेलले जानकारी दिनुभयो।