• ८ मंसिर २०८१, शनिबार

घातक हुन्छ प्यान्क्रियाजको क्यान्सर

blog

मानव शरीरमा हुने प्यान्क्रियाजलाई भूमिकाको हिसाबले पाचन प्रणाली एवं ‘इन्डोक्राइन’ प्रणाली अन्तर्गत राखिएको छ । अर्थात् यो अङ्गको दोहोरो भूमिका छ । आमाशयको ठिक्क पछाडि रहने  ग्रन्थियुक्त प्यान्क्रियाजलाई टाउको, जिउ र पुच्छरमा विभाजित गरिएको हुन्छ ।

यस अङ्गमा रहेको ‘आइलेट अफ ल्यान्गरहेन्स’ ले इन्सुलिन, ग्लुकागोन, सोमाटोस्टाटिन र प्यान्क्रियाटिक पोलिपेप्टाइडलगायतका हर्मोन उत्पादन गर्छ भने ‘एसिनर’ कोषले पाचन रस उत्पादन गर्ने गर्दछ । 

इन्सुलिन हर्मोनले रगतमा सुगरको मात्रा नियन्त्रण गर्दछ भने ग्लुकागोनले इन्सुलिनको उत्पादनलाई नियन्त्रणमा राख्छ । सोमाटोस्टाटिनले आवश्यकता अनुसार इन्सुलिन र ग्लुकागोनको उत्पादन रोक्न सक्छ । त्यसैगरी सोमाटोस्टाटिनले पाचन रस उत्पादन, कलेजोबाट पित्त उत्पादन तथा पित्त थैली खुम्चिन वा रित्तिन पनि रोक्न सक्छ । प्यान्क्रियाटिक पोलिपेप्टाइडले भने खाना खाएलगत्तै आमाशयबाट खाना रित्तिन रोकेर तथा पित्त उत्पादनमा सघाउ पु¥याएर पाचन कार्यमा सघाउँछ ।

प्यान्क्रियाजका यिनै कोष अनियन्त्रित रूपमा वृद्धि भएर प्यान्क्रियाजमा क्यान्सर विकसित हुने हो । अधिकतर प्यान्क्रियाजको क्यान्सर पाचनरस उत्पादन गर्ने तथा पाचनरस बहने नलीबाट विकसित हुन्छ । धेरैजसो (६० देखि ७० प्रतिशत) प्यान्क्रियाजको क्यान्सर प्यान्क्रियाजको टाउकोपट्टिको भागमा विकसित हुन्छ ।

क्यान्सरको लक्षण

ट्युमरका कारण पित्त बहने क्रियामा अवरोध भएर जन्डिस देखापर्ने, बिनाकारण वा खाना नरुचेर तथा पाचनमा गडबडी भएर शारीरिक तौल घट्ने, दिसा सेतो हुन थाल्ने, पिसाबको रङ गाढा हुन थाल्ने, वाकवाकी लाग्ने हुन्छ ।

यसमा पेटको माथिल्लो भाग एवं पछाडिपट्टि माथिल्लो ढाडमा दुख्छ । पेटको यस्तो दुखाई पृथक् खालको हुन्छ, जुन राति झन् बढी दुख्ने र अगाडि ढल्केर बस्दा अलि आराम महसुस हुने गर्छ । अपच हुने भएकाले चिल्लो अर्थात् चिप्लो दिसा, अधिक गनाउने हुन्छ । कब्जियत पनि हुन सक्छ । अवसाद (डिप्रेसन), थकान हुने, मुख सुक्खा हुने, अनिँदो हुने, माथिल्लो पेटमा डल्लो देखिने  हुन सक्छ । कलेजोभित्रका शिरा (रक्तनली) मा रगत आफैँ जम्न सक्छ ।

अन्य क्यान्सरभन्दा पृथक् यी क्यान्सरजन्य कोषले शरीरका अन्य भागमा छिट्टै छेड्ने क्षमता राख्छन् । त्यसो भएर क्यान्सर फैलिएर प्रभावित अङ्ग अनुसारको थप लक्षण देखा पर्न सक्छ । क्यान्सर फैलिने क्रममा सुरुमा नजिकैको लिम्फनोड (गिर्खा), त्यसपछि कलेजो, पेट, ठूलो आन्द्रा, फोक्सोमा पुग्न सक्छ तर हड्डी र मस्तिष्कमा निकै कम मात्र फैलिन्छ । करिब दुई प्रतिशत मानिसमा अन्यत्रबाट पनि यहाँ क्यान्सर पुग्न सक्छ । मिर्गौला, आन्द्रा, छाला, स्तन, फोक्सो केही उदाहरण हुन् ।

यस क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षण नदेखिन सक्छ । प्यान्क्रियाजको क्यान्सर विशेषको लक्षण देखिने बेलासम्म क्यान्सर निकै बढिसकेको हुन्छ । अझ क्यान्सर पत्ता लाग्ने बेलासम्म क्यान्सर शरीरको अन्यत्र भागमा फैलिसकेको हुन सक्छ ।

जोखिम

प्रायः ४० वर्ष उमेरमाथिका मानिसलाई यो क्यान्सर लाग्ने सम्भावना हुन्छ भने आधाभन्दा बढी ७० वर्षमाथि उमेर समूहका हुन्छन् । धूमपान गर्ने (करिब २५ प्रतिशत), अत्यधिक मद्यपान गर्नेमा जोखिम बढी छ । रक्सी सेवनसँगै धूमपान गर्ने बानी छ र रक्सी पिउँदा सितनका रूपमा प्रशोधित मासु, रातो मासु, फ्राई वा ग्रिल वा पोलेको मासु पनि खाइने भएकाले पुरुष मानिसमा जोखिम अलि बढी देखिन्छ ।

मोटोपना भएका, मधुमेह भएका, केही विरल वंशाणुगत समस्या भएका (५ देखि १० प्रतिशत) मा यो क्यान्सर लाग्ने जोखिम हुन्छ । शरीरको तौल (बिएमआई ३५ भन्दा बढी भएका) मा दोब्बर जोखिम हुन्छ । परिवारमा कसैलाई प्यान्क्रियाजको क्यान्सर भइसकेको भए ७० वर्षको उमेरसम्ममा यो क्यान्सर लाग्ने ३० देखि ४० प्रतिशत सम्भावना रहन्छ ।

‘प्यान्क्रियाटिक एडेनोकार्सिनो’ मा भएका ५० प्रतिशत मानिसमा मधुमेह देखा परेको छ । त्यसैले मधुमेह प्यान्क्रियाजको क्यान्सरको जोखिम तत्व (कारण) वा नतिजा दुवै हुन सक्छ । प्यान्क्रियाजको जीर्ण प्रकारको सुजन पनि जोखिम नै हो ।

यो निकै घातक क्यान्सरमा पर्दछ र धेरैजसो विकसित मुलुकमा देखिने गरेको छ । सन् २०१५ मा करिब सवा लाख मानिसको मृत्यु यसबाट भएको थियो । क्यान्सरका कारण मृत्यु हुनेमा यो अमेरिकामा तेस्रो मुख्य कारण र बेलायतमा पाँचौँ मुख्य कारणमा पर्दछ ।

यो क्यान्सर लागेपछि बाँच्ने सम्भावना निकै कम हुन्छ । ‘एडेनोकार्सिनोमा’ को त झन् नराम्रो छ । रोग लागेपछि एक वर्ष बाँच्ने सम्भावना २५ प्रतिशत र पाँच वर्ष बाँच्ने सम्भावना केवल १२ प्रतिशत मात्र छ । यो क्यान्सर बेलैमा पत्ता लगाउने हिसाबले गरिने ‘स्क्रिनिङ’ को पनि कुनै फाइदा छैन ।

निदान

‘मेडिकल इमेजिङ’ (अल्ट्रासाउन्ड, सिटी स्क्यान, एमआरआई, पेट स्क्यान, एमआरसिपी) एवं खाद्यनलीभित्रैबाट गरिने (इन्डोस्कोपिक) अल्ट्रासाउन्डबाट यो क्यान्सरको अनुमान लगाउन सकिन्छ भने रगतमा कलेजोको काम गराई जाँच तथा ‘ट्युमर मार्कर’ (सिए १९–९) बाट अझ बढी प्रस्ट हुन्छ । शङ्कास्पद ठाउँबाट लिइएको मासुको बायोप्सीबाट यो क्यान्सरको निदान गरिन्छ ।

विभिन्न थरीका ‘प्यान्क्रियाटिक क्यान्सर’ पत्ता लागेको छ । त्यसमध्ये अधिकतर ‘एडेनोकार्सिनो’ मा (९० प्रतिशत) छ । जुन खाना पचाउने पाचन रस उत्पादन गर्ने प्यान्क्रियाजको भागबाट विकसित हुन्छ । अन्य प्रकारमा ‘एसिनर सेल क्यान्सर’, ‘सिस्टएडेनो क्यान्सर प्यान्क्रियाटिकोब्लास्टोमा’ र ‘प्यान्क्रियाटिक म्युसिनस सिस्टिक निओप्लाज्म’ छन् । यसबाहेक अन्य समूहलाई ‘नन–एडेनोकार्सिनोमा’ भनिन्छ । यसमा ‘न्युरोइन्डोक्राइन ट्युमर’ पर्छन् जुन विशेषतः हर्मोन उत्पादन गर्ने प्यान्क्रियाजको भागबाट विकसित हुन्छ । यो ‘एडेनोकार्सिनो’ मा जत्तिको आक्रामक एवं घातक हुँदैन ।

उपचार

यस क्यान्सरको उपचारका लागि शल्यक्रिया, रेडियोथेरापी, केमोथेरापी र ‘प्यालियाटिभ केयर’ छन् तर यो क्यान्सर लागेपछि पाँच वर्ष बाँच्ने सम्भावना केवल १३ प्रतिशत मात्र छ । त्यसो भएर रोग निको पार्ने उद्देश्यले उपचार लिइरहेका (शल्यक्रिया नै गराएका) बिरामीले पनि सुरुदेखि प्यालियाटिभ केयर लिनु राम्रो हुन्छ ।

शल्यक्रियाले मात्र ‘एडेनोकार्सिनोमा’ को उपचार वा प्रभावित व्यक्तिको जीवनस्तर उकास्न सक्छ । प्यान्क्रियाजको क्यान्सर निको नै पार्ने उद्देश्यले ‘ह्विपल्स’ भनिने शल्यक्रिया गरिए पनि २० प्रतिशत अवस्थामा मात्र यो सम्भव छ । यस शल्यक्रियामा प्यान्क्रियाजको टाउको, सानो आन्द्रा (ड्यडेनम) को महत्वपूर्ण अंश निकालेर आमाशयलाई सिधै ठूलो आन्द्राको बीचको भाग (जेजुनम) मा जोडिन्छ ।

शल्यक्रियाअघि ‘निओएड्जुभेन्ट’का रूपमा वा शल्यक्रियापछि ‘एड्जुभेन्टथेरापी’ का रूपमा केमोथेरापी दिने गरिन्छ । रेडियोथेरापीले ट्युमरको आकार घटाउन मद्दत गर्दछ । त्यसो भएर अपरेसन अगाडि रेडियोथेरापी दिने गरे पनि शल्यक्रिया गर्न नमिल्ने अवस्थामा यसको भूमिका विवादास्पद मानिन्छ ।

प्यान्क्रियाजको क्यान्सरलाई विभिन्न चार चरणमा सुरुवाती (पहिलो चरण) देखि पछिल्लो (चौथो चरण) मा बाँडिएको हुन्छ । क्यान्सरको चरण अनुसार रेडियोथेरापी वा केमोथेरापीमध्ये कुनै एउटा वा यी सबैको मिश्रणयुक्त उपचारको छनोट गरिन्छ । ‘प्यालियाटिभ केयर’ भनेर दुखाई कम गर्ने, लाक्षणिक आराम दिने, जीवनस्तर उकास्ने, पाचन सुधार्ने खालका औषधि दिइन्छ ।

रोकथाम

धूमपान नगर्ने, शारीरिक तौल नियन्त्रणमा राख्नु पर्दछ । रातो एवं प्रशोधित मासु कम खाने गर्नु पर्दछ तर सन् २०१३ मा इन्टरनेसनल जर्नल अफ क्यान्सरले यो कुरा प्रमाणित गरिएको देखिएन । धूमपान गर्न छोडे २० वर्षपछि चुरोट नपिउने जत्तिकै हुन्छ । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार सन्तुलित वजन, फलफूल र सागपात अधिक उपभोग, पूर्ण अन्न अधिक खाने गरेमा फाइदा गर्ने पाइए पनि प्रशोधित रातो मासु कम खाएमा प्यान्क्रियाजको क्यान्सरको रोकथाम वा कम हुन्छ भन्ने कुनै बलियो प्रमाण भेटिएन ।

सन् २०१४ को अनुसन्धान विश्लेषण अनुसार सिट्रसयुक्त फलफूल अर्थात् भिटामिन सी हुने अमिला फलफूल, बेसार (यसमा पाइने कक्र्युमिन तत्व) ले प्यान्क्रियाजको क्यान्सरको जोखिम कम हुने पाइएको छ । त्यसैगरी पूर्ण अन्न, फोलेट, सेलेनियमयुक्त खाना र फ्राई नगरेको माछाले फाइदै पु¥याउँछ ।  

Author

प्राडा सुमनराज ताम्राकार